राजनीति


अब बीआरआई कार्यान्वयन सम्झौता हुन्छ : कांंग्रेस नेता वाग्ले

अब बीआरआई कार्यान्वयन सम्झौता हुन्छ : कांंग्रेस नेता वाग्ले

वाशुदेव मिश्र
फागुन २९, २०७८ आइतबार २०:४४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले अबको केही दिनमा नै   नेपाल र चीनबीच चिनियाँ सहयोग परियोजना (बीआरआई) कार्यान्वयनबारे सम्झौता हुने जिकिर गरेका छन्।

‘एमसीसी संसदबाट पारित भएपछि अब प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ सहयोग (बीआरआई) सम्झौता गर्दै हुनुहुन्छ’,नेता वाग्लेले आइतबार कास्की कांग्रेसको घरघर जाऔं अभियान सुरु गर्दै भने,‘देशलाई ऋणमा डुबाएर श्रीलंकाजस्तो बनाउनुभन्दा सहयोग लिएर विकास गर्नु बुद्धिमानी हुन्छ।’ 

चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारको नेतृत्व गरिरहेको कांग्रेस नेताको यो अभिव्यक्तिपछि बीआरआईबारे थप सम्झौता हुने सम्भावना बढेको छ। यद्यपि, सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणका एजेण्डाबारे केही बताएको छैन।

सन् २०१८ मै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई अगाडि बढाउने सहमति गरेको नेपालले सन् २०१९ मा मित्रराष्ट्र चीनसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अगाडि बढाउने सम्झौता गरेको थियो।

बीआरआई अन्तर्राष्ट्रिय सहभागिता मञ्चमा राष्ट्रपतिको सहभागितासँगै सीमापार रेल सञ्जाल निर्माणमा सहमति जुटेको थियो। त्यही आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘चुच्चे रेल’ ल्याउने उद्घोष गरेका थिए।

विभिन्न ९ वटा परियोजनामा सहयोग माग गरेको नेपालले पछिल्ला दिनमा भने बीआरआई सम्झौता अगाडि बढाउन खासै रुचि देखाएन। चीनले पटक–पटक चासो दिँदा पनि बीआरआई अगाडि बढेन।

एकातिर बीआरआई कार्यान्वयन नहुनु र अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गराउन मरिहत्ते गर्नुले चीन सशंकित बन्यो।

एमसीसीबारे दलहरुबीच फरक मत आउँदा चीनले सार्वजनिक रुपले नै आफू एमसीसीको पक्षमा नभएको प्रष्ट पार्यो। चीनको लागि राजदूत नियुक्तिमा ढिलाइ तथा यसअघिका सम्झौता कार्यान्वयनमा चासो नदिनुलाई चीनले गम्भीरताका साथ हेरेको कुटनीतिक वृत्तमा चर्चा चल्यो।

एमसीसी पारित गरेपछि बीआरआई अगाडि बढाउन नैतिक दवाव परेकै बेला चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको छ। कांग्रेसका नेताहरुले विकासको लागि सबै देशबाट सहयोग लिनुपर्ने धारणालाई जोडतोडका साथ उठाइरहेका छन्।

नेता वाग्लेको पछिल्लो अभिव्यक्तिलाई कांग्रेस बीआरआई कार्यान्वयनमा ल्याएर आफूमाथि लागेको चीन विरोधीको ‘ट्याग’ हटाउने अभियानको रुपमा अर्थ्याइएको छ।  

नेता वाग्लेले कार्यकर्ताहरुमाझ अर्थतन्त्र उकास्नका लागि ल्याइएको अरुण जलविद्युत आयोजनामा  एमालेले गल्ती गर्दा देश पछि परेको जिकिर गरे।

उनले भने,‘ अरुण सबैभन्दा सस्तो ऋण र ब्याजमा बन्ने विशाल परियोजना थियो। माधव नेपालको प्रधानमन्त्री भएको सरकारले समाप्त बनायो। आज २० वर्षपछि यो कुरालाई जनतालाई भन्ने कि नभन्ने?’

अहिले कम्युनिष्टका नेताहरुले लाजै नमानी स्विच दबाएर त्यही जलविद्युत आयोजना उद्घाटन गरिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .