ad ad

राजनीति


प्रचण्डको साइनो जोडिएका क्षेत्रमा कांग्रेस चुनावी तालमेल गर्न अनिच्छुक

प्रचण्डको साइनो जोडिएका क्षेत्रमा कांग्रेस चुनावी तालमेल गर्न अनिच्छुक

केशव सावद
चैत २६, २०७८ शनिबार ७:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पारिवारिक साइनो जोडिएका जिल्लाहरुमा तालमेल गर्न नेपाली कांग्रेस अनिच्छुक देखिएको छ।

पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भए पनि प्रचण्डको परिवारबाट उम्मेदवार हुने चितवन र कञ्चनपुरमा कांग्रेसले स्थानीय तह निर्वाचनमा माओवादीसँग नमिल्ने अडान देखाएको हो।

चितवन र कञ्चनपुरमा कांग्रेसको जिल्ला नेतृत्वले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका अन्य ४ दलसँग चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ। तर, सो निर्णयपछि पनि चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीलाई नछाड्ने बताएको छ।

२०७४ को निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई सघाएका कारण यो पटक महानगरको नेतृत्व आफूहरुले पाउनुपर्ने चितवन कांग्रेसको भनाइ छ।

चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको ‘निर्वाचन तयारी एवम् अनुगमन समितिका’ संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका छन्।

काठमाडौँको बोहराटारस्थित पौडेल निवासमा बिहीबार भएको भेटमा उनीहरुले विगतमा माओवादीलाई प्रमुख दिएकाले यस पटक कांग्रेसले महानगरको नेतृत्व पाउनुपर्ने धारणा राखेका छन्। चितवनका नेताहरुले भरतपुरमा नेतृत्व नपाए पार्टी संगठन नै ध्वस्त हुने चेतावनीसमेत दिएका छन्।

उता जिल्ला कार्यसमिति तालमेलको पक्षमा देखिए पनि प्रचण्डकी बुहारी विना मगर निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि कांग्रेसले चुनावी तालमेल अस्वीकार गरेको छ।

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीलाई पत्र पठाउँदै कञ्चनपुर–१ का चार पालिकामा चुनावी तालमेल आवश्यक नभएको बताएको छ।

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले तालमेल नगर्न नेतृत्वलाई सुझाव दिएको छ।

‘कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ मा रहेका प्रत्येक स्थानीय तहहरुले गठबन्धनको आवश्यकता नरहेकोले हामीले एक्लै चुनावी प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने भन्ने निर्णय गरी पठाएकोले यस क्षेत्रमा कुनै प्रकारको गठबन्धन स्वीकार्य नहुने धारणा आएकाले नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको गठबन्धन सम्बन्धमा कुनै पनि किसिमको गठबन्धन गर्नु हुँदैन भन्ने धारणा रहेको जानकारी गराउँदै गठबन्धन नगर्न अनुरोध गर्दछौँ,’ जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा भनिएको छ। 

क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव बिसराम रानाले हस्ताक्षर गरेर जिल्ला कार्यसमितिलाई पठाइएको उक्त पत्र सुदूरपश्चिम प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ पठाइएको छ।

यसअघि उक्त निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी र लालझाडी गाउँपालिका तथा बेलौरी र पुनर्वास नगरपालिकाका कार्यसमितिहरुले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई चुनावी तालमेल नगर्न आग्रह गर्दै पत्राचार गरेका थिए। 

उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट नेता दिवानसिंह विष्टले चुनाव लड्दै आएका छन्। उनले २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बिना मगरलाई पराजित गरेका थिए। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने मगरले विष्टलाई दोब्बर मतले पराजित गरेकी थिइन्। प्रतिनिधिसभा निर्वाचनमा मगरले ३८ हजार ४६७ मत ल्याउँदा विष्टले १९ हजार २१९ मत पाएका थिए। 

स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरे आगामी संघीय निर्वाचनमा कञ्चनपुर–१ मा मगरलाई छाड्नुपर्ने डरले विष्ट अहिले नै तालमेल हुन नदिन प्रयासरत छन्।

क्षेत्रीय सभापति उपाध्यायले पनि नेता विष्ट उक्त प्रयासमा रहेको संकेत गरेका छन्। 

‘अहिले तालमेल गरियो भने भोलि पनि त्यही हुने हो। प्रचण्डलाई बुहारी जसरी पनि जिताउनु छ,’ उनले नेपालखबरसँग भने, ‘माओवादीको भन्दा बलियो र पपुलर उम्मेदवार दिवान दाइ हामीसँग हुनुहुन्छ। तालमेल नगरी जित्न सक्छौँ भने किन हामी अरुसँग मिल्ने?’

क्षेत्रीय सभापति उपाध्यायले क्षेत्र नम्बर १ का चार वटै पालिकाहरुमा यस पटक कांग्रेस विजयी हुने दाबीसमेत गरे। 

‘हामी एक्लै चार वटै पालिकामा जित्ने अवस्थामा छौँ,’ उनले प्रश्न गरे, ‘जित्ने आधार हुँदाहुँदै किन अरुलाई छोड्ने?’

सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्दा उक्त क्षेत्रका चारमध्ये एक गाउँपालिका बेलडाँडीमात्रै कांग्रेसको भागमा पर्ने देखिएपछि क्षेत्रीय कार्यसमिति सशंकित भएको हो।

क्षेत्र नम्बर १ अन्तर्गतको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका माओवादी र पुनर्वास नगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना देखिएको छ। 

केन्द्रमा गठबन्धनबीच २०७४ मा जितेका पालिकाको नेतृत्व सोही दलले पाउने समझदारी झण्डै–झण्डै बनिसकेको छ। उक्त समझदारी कार्यान्वयन भएपछि क्षेत्र नम्बर १ मा कांग्रेसले बेलडाँडी गाउँपालिकाको नेतृत्व मात्रै पाउने छ। 

गत स्थानीय तह निर्वाचनमा उक्त पालिकामा नेकपा एमाले विजयी भएको थियो। एमालेका उम्मेदवार धनबहादुर थापा क्षेत्री ३ हजार २१५ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। 

कांग्रेसका उम्मेदवार चन्द्रबहादुर सिंहले २ हजार ५९६ र माओवादी केन्द्रका उम्मेदवार नन्दकिशोर एसके सार्कीले ८३३ मत पाएका थिए। तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार राजबहादुर डगौराले ५७४ मत ल्याएका थिए। 

पुनर्वास नगरपालिकामा पनि एमालेका जीवनराज थापा ६ हजार ४० मतका साथ नगर प्रमुखमा विजयी भएका थिए। माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५१४ र कांग्रेसका तोयप्रसाद शर्माले ५ हजार ५१२ मत पाएका थिए।

तत्कालीन नपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि नगर प्रमुख थापाले एकीकृत समाजवादी र माओवादीबाट नगर प्रमुखका उम्मेदवार बनेका थापाले एमाले रोजेका छन्।  

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पुनर्वासमा एकीकृत समाजवादीले नेतृत्वमा दाबी गर्ने निश्चित छ। तर, कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति उक्त पालिका छोड्न तयार देखिँदैन। 

यस्तै, बेलौरी नगरपालिकामा माओवादी केन्द्रका पोतीलाल चौधरी ६ हजार ७६४ मतका साथ नगर प्रमुखमा विजयी भएका थिए। कांग्रेसका हरेन्द्रसिंह विष्ट ५ हजार ४१२ मतका साथ तेस्रो भएका थिए। 

तत्कालीन समयमा बेलौरीमा निकटतम् प्रतिद्वन्द्वी देखिएका एमालेका पल्लवराज भट्टले ६ हजार ४०७ मत ल्याएका थिए। बेलौरीमा तत्कालीन फोरम लोकतान्त्रिक पुष्कल चौधरीले ९६५, राप्रपाका आत्मराम दाहाल ७४५ र जनमोर्चाका राजाराम डगौराले ७२९ मत पाएका थिए।

लालझाडी गाउँपालिकामा पनि माओवादी केन्द्रका मदनसेन बडायक २ हजार ८९६ पाएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका निर्मल रानाले २ हजार ६२१ मत पाएका थिए। 

कांग्रेसका धर्मसिंह बडायक २ हजार ८४ मतका साथ तेस्रो भएका थिए। लालझाडीमा ततकालीन फोरम लोकतान्त्रिकका जनकबहादुर चौधरीले ३०८ र जनमोर्चाका बलराम रानाले ११६ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .