राजनीति


देउवाकै मतदाता नामावली रहेको पालिकामा गठबन्धन अस्वीकार

देउवाकै मतदाता नामावली रहेको पालिकामा गठबन्धन अस्वीकार

फाइल तस्बिर


केशव सावद
चैत २७, २०७८ आइतबार १२:४५, काठमाडौँ

नेपाली कांग्रेसले सत्ता साझेदार दलहरूसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जाने निर्णय गरे पनि तल्लो तहका कार्यसमिति असन्तुष्ट देखिएका छन्। 

चैत १५ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयमा टेकेर कांग्रेसका तल्लो तहका कार्यसमितिले चुनावी तालमेलका लागि असहमति जनाइरहेका छन्।

‘स्थानीय अवस्था र आवश्यकताअनुरुप तालमेल गर्न सक्ने’ भन्दै गरेको नीतिगत निर्णयमा टेकेर शीर्ष तहका नेताहरुकै गृहजिल्लामा वडा र पालिकास्तरीय कार्यसममितिहरु तालमेल आवश्यक नरहेको अडानमा छन्।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ केन्द्रीय कार्यसमिति बैठकले भनेको थियो। 

यही निर्णयमा टेकेर प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको मतदाता नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन्। 

गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो। 

तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन्। 

२०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए। तालमेलबारे निर्णय नगरेको वडा नम्बर १ मा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ। 

गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन्। 

‘२ र ३ ले गठबन्धन आवश्यक नरहेको निर्णय गरेर पत्र पठाएका छन्। १, ४ र ५ ले कुनै डिसिजन गरेका छैनन्,’ उनले नेपालखबरसँग भने, ‘वडाबाट जे जस्तो निर्णय आउँछ, त्यसलाई माथि पठाउँछौँ।’

चुनावी तालमेलबारे निर्णय गर्न बाँकी वडा कार्यसमितिले केन्द्रको निर्णय कुरेर बसेको सभापति कार्कीले बताए। डडेल्धुरा जिल्ला कार्यसमिति पनि केन्द्रको निर्णय कुरेर बसेको छ। 

जिल्ला नेतृत्वले चैत २० गते सत्ता गठबन्धनका दलसँग प्रारम्भिक  छलफल गरे पनि ठोस निर्णय गर्न सकेको छैन। प्रारम्भिक छलफलमा ती दलले डडेल्धुरामा चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका थिए। 

राष्ट्रिय जनमोर्चाका सहसचिव टंकराज अवस्थीले गठबन्धनका दलबीच दोस्रो पटक छलफल नभएको बताए। ‘एक पटक गठबन्धनबीच छलफल भएको हो। त्यसयता हामी बसेका छैनौँ,’ उनले भने, ‘कोअर्डिनेशनको जिम्मा कांग्रेसको हो। उहाँहरु केन्द्रको निर्देशन कुरिरहनु भएको छ।’  

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीले केन्द्रमा भएको गठबन्धनलाई जिल्लाले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए। उनले जिल्लामा आफूहरु गठबन्धनमा रहेका दलहरूसँग अनौपचारिक छलफलमा रहेको पनि बताए। 

‘केन्द्रमा भएको गठबन्धनलाई हामीले सकारात्मक रुपमा लिएका छौँ। दोस्रो पटक औपचारिक छलफल भएको छैन,’ जोशीले भने, ‘कहाँ के गर्ने, कसरी गर्ने भन्ने बारेमा हामी होमवर्कमै छौँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .