राजनीति


एमालेले उनै गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार बनायो, जो ८ लाख घुस फालेर भागेका थिए

एमालेले उनै गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार बनायो, जो ८ लाख घुस फालेर भागेका थिए

आसन्न निर्वाचनका लागि पुनः उम्मेदवार हुन सफल भएपछि बटेश्वर गाउँपालिकाका अध्यक्ष क्षेत्रीलाई सोमबार साँझ वडा नम्बर ४ मा खादा, अबिरसहित बधाई दिँदै एमालेका स्थानीय नेता÷कार्यकर्ता।


शैलेन्द्र महतो
चैत २९, २०७८ मंगलबार ७:२३, जनकपुरधाम

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा पुनः डम्बरबहादुर राउत क्षेत्रीलाई उम्मेदवार बनाएको छ। उनी हाल सोही गाउँपालिकाका अध्यक्ष हुन्। 

सोमबार बसेको एमाले गाउँ कमिटीको बैठकले पुनः उनैलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

भ्रष्टाचार काण्डमा मुछिए पनि क्षेत्री पुनः अध्यक्षको उम्मेदवार हुन सफल भएका हुन्। उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलिप लामा, राम पुकार महतोलगायतले पनि दाबी गरेका थिए तर एमाले गाउँ सचिवालय समितिका बहुमत सदस्यले क्षेत्रीलाई नै रोजेपछि उनीहरू पछि हटेका हुन्। 

गाउँपालिका अध्यक्ष क्षेत्रीलाई २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत  ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। 

धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय (टंगाल) को टोलीले पछयाएपछि उक्त रकम औरही खोला छेउमा फालेर भागेका थिए।  तर केही रकम उनी सवार गाउँपालिकाको सरकारी गाडीबाट र केही झाडीबाट अख्तियारले बरामद गरेको थियो।

अख्तियारले घुस रकमसहित अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीर बहादुर मगरलाई नियन्त्रणमा लिएको थियो। अख्तियारको केन्द्रीय कार्यालयका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अध्यक्ष राउत र चालक मगर धरौटीमा छुटेका छन्। सो घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको अख्तियारको कार्यालयले जनाएको छ।

उनी घुस फालेर फरार भएको तीन महिनापछि गत जेठ २८ गते अख्तियार कार्यालयमा हाजिर भएर त्यतिबेला पार्टीबाट उपप्रधामन्त्री रहेका रघुवीर महासेठसँगै बटेश्वर आएका थिए। एमालेका स्थानीय नेता÷कार्यकर्ताले युद्ध जितेर आएजस्तो गरी उनलाई भव्य स्वागतसहित गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको संरक्षण र राउतको आफ्नै कर्मचारीतन्त्रमा भएको पकडका कारण उनी कानुनी कारबाहीबाट बच्न सफल भएका हुन्। गाउँपलिकामा गएको साढे चार वर्षयता उनको नेतृत्वमा कैयौं योजनामा आर्थिक अनियमितता भएको कुरा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन लेखिएको छ।

पछिल्लो समय उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखाअधिकृत सुमन पुरीलाई आफ्नो प्रभावमा पारेर मोटो कमिसनमा गोप्य टेन्डर र कोटेसनमार्फत एकै कम्पनीलाई दर्जनभन्दा बढी योजनाका काम दिने गरेको समेत खुलेको थियो। दुई साताअघि मतदाता रिझाउन उनले गाउँपालिका कार्यालयको ४० लाख बजेटमा फाइवर सिरक खरिद गरी ७४८ जना ज्येष्ठ नागरिकलाई वितरण गरेका थिए। गर्मीमा सिरक वितरण गरेपछि अध्यक्ष क्षेत्रीको निकै आलोचना भएको थियो।

त्यति मात्र होइन, गाउँपालिकाकै एक एकल महिलालाई असभ्य शब्द प्रयोग गरेको घटनाले समेत उनी विवादमा परेका थिए। पछि एमालेले पीडितकी छोरालाई मनाएर घटना थामथुम पारेको थियो।

याे पनिआठ लाख घुस लिएको एक वर्ष बित्दा पनि बटेश्वर गाउँपालिका अध्यक्षमाथि भएन कारबाही

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .