ad ad

राजनीति


जो १७ वर्ष अमेरिका बसेर फर्किए, ‘केही गर्छु’ भन्दै व्यासको मेयर उम्मेदवार बने (भिडिओ)

दीपकराज जोशी भन्छन्– गोविन्दराजको छोरा हुनुको फाइदा छ, अमेरिकामा आर्जन गरेको ज्ञान स्थानीय सरकारमा लगाउँछु
जो १७ वर्ष अमेरिका बसेर फर्किए, ‘केही गर्छु’ भन्दै व्यासको मेयर उम्मेदवार बने (भिडिओ)

दीपकराज जोशी भन्छन्– अमेरिकामा आर्जन गरेको ज्ञान स्थानीय सरकारमा लगाउँछु (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख ३, २०७९ शनिबार १७:३९, काठमाडौँ

२०४६ सालको परिवर्तनपछि उदाएका नेपाली राजनीतिका एक जना चर्चित पात्र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी १७ बर्ष अमेरिका बसेर ४ वर्षअघि मात्रै स्वदेश फिरे। 

बुबाले देशको गृहमन्त्री भएर माओवादी सशस्त्र संघर्ष दबाउने जिम्मेवारी बोक्दा उनी उच्च शिक्षा आर्जन गर्न अमेरिका उड्ने चाजोपाँजो मिलाइरहेका थिए। माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला गृहमन्त्रीको छोरा भएका कारण सुरक्षा ‘थ्रेट’ महसुस गरेका उनका परिवारका निम्ति पनि दीपकको अमेरिका उडान आश्वस्त पार्ने निर्णय थियो। 

तिनै दीपक माओवादी शान्ति प्रक्रियामा आएर राजकाजमा काँग्रेससँग सत्ता सहकार्य गरिरहेको बेला ’केही गर्छु’ भन्दै ४ वर्षअघि स्वदेश फर्किए।

अमेरिकामा व्यवस्थापनका विद्यार्थी उनले काठमाडौँ फर्केपछि धुम्बाराहीमा रहेको एउटा म्यानेजमेन्ट कलेजको व्यवस्थापकीय जिम्मेवारी लिएर आफ्नो भूमिका देखाउन थालेका मात्रै थिए। स्थानीय निर्वाचन घोषणा भो। स्वदेशमै केही गर्छु भनेर अमेरिकाबाट काठमाडौँ ओर्लिएका उनी अहिले ‘गाउँका लागि गर्छु’ भन्दै पुख्र्यौली थलो दमौली आइपुगेका छन्।

जोशी परिवारले राजनीति गर्दै आइरहेको दल कांग्रेसबाट टिकट पाउन सहज छैन भन्ने थाहा हुँदाहुँदै पनि व्यास नगरपालिकाको प्रमुखमा दाबेदारी पेश गर्न दीपक नेतृत्व समक्ष पुगे। उनका बुबा गोविन्दराज जोशीलाई कांग्रेसले किनारा लगाइसकेकाले कांग्रेसी राजनीतिका उनी साक्षी किनारा मात्र हुन्। त्यसैले बुबाको विरासतले काम गर्दैन भन्ने उनलाई राम्ररी थाहा थियो। तैपनि दीपकले आफ्नो दाबी दर्ता गराए। र, लगत्तै दमौली फर्किएर घरदैलो कार्यक्रम थाले। 

चुनावी रणनीतिमा माहिर मानिएका र तनहुँको राजनीतिमा प्रभावशाली रहँदै आएका बुबा गोविन्दराजलाई गुरु दक्षिणा थापेकाले होला स्थानीयले दीपकको प्रचार शैलीमा उनकै बुबाको छाप महसुसस गरिरहेका छन्।

नेपालखबर टिम बिहिबार दमौली बजारमा रहेको जोशी निवासमा पुग्दा एक साता अघि दमौली आइपुगेका गोविन्दराज छोरा दीपकलाई आफ्नो अनुभव बाँडिरहेका थिए। दीपकले पनि दमौलीमा गोविन्दराजको स्थानीयसँगको सम्बन्ध र त्यसले निर्माण गरेको राजनीतिक विरासतले ठूलो सहयोग पुर्याउने आश गरेका छन्।

उनी भन्छन्, ‘गोविन्दराजको छोरा हुनुको फाइदा त हुन्छ नै।’ 

अमेरिकामा आर्जन गरेको ज्ञान र कौशल प्रयोग गरि आफ्नो पुस्तैनी थलोको विकास गर्ने घोषणा सहित चुनावी मैदानमा उत्रिएको बताउँछन् दीपक। उनले बाँडिरहेको ‘मेरो उम्मेदवारी किन?’ शीर्षक राखिएको ८ पेज लामो चुनावी प्रचार सामाग्रीमा पनि यस्तै दाबीहरू गरिएको छ।

आफू व्यवस्थापनको विद्यार्थी भएकोले व्यास नगरपालिकामा भैरहेको ३० प्रतिशत बजेट चुहावट नियन्त्रण गर्नसक्ने दाबी गर्दै दीपकले भने, ‘हाम्रो नगरपालिकामा पानीको स्रोत फालाफाल छ। तैपनि हामीले त्यसलाई घरघरमा पुर्याउन सकेका छैनौँ। कम्तिमा मसँग घरघर पानी पुर्याउने आइडिया छ।’

कांग्रेसले टिकट नदिए स्वतन्त्र हैसियतमा लड्ने बताइरहेका दीपकले एमालेसँग सहकार्य गर्ने संभावना प्रवल देखिन्छ। गोविन्दराजको राम्रो पकड क्षेत्र मानिएको र कांग्रेसले नै हाँकिरहेको चुनावी क्षेत्रमा दीपकले चुनौती दिन खोजेका छन्। मैदानमा दीपकको उपस्थिति र उनले गरेको आकलनले के कस्तो स्वरुप लिन्छ, त्यसमाथि चर्चा गर्ने समय अझै छ।

हामीले चाहिँ अमेरिकामा त्यति लामो समय बसेर शान शौकत जीवन व्यतित गरिरहेका दीपकलाई स्वदेश फर्केर किन ’केही गर्न’‘ मन लाग्यो? त्यसो गर्न उनले के कस्ता योजना बनाएका छन् जस्ता विषयहरू बुझ्न खोज्यौँ। 

भिडिओमा हेर्नुहोस्, दीपकराज जोशीकै थलो दमौलीको अनसन चौतारीमा उनीसँग गरिएको चुनाव–चर्चाः

भिडिओः विशाल कार्की

डेटलाइन पोखरा–थप स्टोरीः

१. ​पोखराकी ‘रोलमोडल’ उपमेयरको भिडिओ–कथाः जो मेयर बन्ने दौडबाट अलग हुँदा धेरैले आश्चर्य माने
२. कार्टुनिष्ट वात्स्यायनको भिडिओ–कथाः राजनीति छ्याङ्ग छैन तर उज्यालो दिन आउँछ, आउँछ
३. २२ अर्बमा तयार भयो पोखरा विमानस्थल, सञ्चालनमा ल्याउन यी चार अप्ठ्यारा (भिडिओ)
४. बन्दीपुरमा एक्लै भिड्न सक्छौँ, गठबन्धन गर्न पनि तयार छौँः अध्यक्ष थापा (भिडिओ) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .