ad ad

राजनीति


जब धनराजलाई पोखराको मेयरमा उठाउने हल्ला चल्यो कांग्रेस नेता हुल बाँधेर काठमाडौँ उडे

जब धनराजलाई पोखराको मेयरमा उठाउने हल्ला चल्यो कांग्रेस नेता हुल बाँधेर काठमाडौँ उडे

धनराज आचार्य


जेवी पुन मगर
बैशाख ५, २०७९ सोमबार ९:३८, पोखरा

३० वर्षदेखि पोखरा महानगरको नेतृत्व लिन नपाएको नेपाली कांग्रेस कास्कीले यसपाली वाम दलबीच आएको विभाजनबाट मनग्गे फाइदा उठाउन सकिने विश्लेषणका आधारमा चुनावी रणनीति बनाइरहेको छ।

त्यही रणनीति अनुरुप गएको साता कास्कीका कांग्रेस नेताहरूले काठमाडौँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्णबहादुर खडका र प्रकाशमान सिंहलाई भेटेर पोखरा महानगरको मेयरमा अन्य दलका उम्मेदवार उठाइए फेरि हारिने निष्कर्ष सुनाए। उनीहरुले कांग्रेसकै नेतृत्वमा चुनावमा जान पनि नेतृत्वलाई दबाब दिए। 

पाँच दलीय गठबन्धनका शीर्ष नेताले नेकपा (एकीकृत समाजवादी) का स्थानीय नेता धनराज आचार्यलाई पोखराको मेयरमा उठाउने निर्णय गरेको हल्ला चलेपछि कांग्रेसका नेताहरु हुल बाँधेर पोखराबाट काठमाडौँ उडेका थिए। 

कांग्रेसका शीर्ष नेताहरूले पोखरामा कांग्रेसकै नेतृत्वमा चुनावमा जाने बताएपछि उनीहरू आश्वस्त भएर पोखरा फर्किएका छन्।

काठमाडौँ पुगेर फर्किएको त्यो प्रतिनिधिमण्डलका एकजना सदस्य भन्छन्, ‘पोखरा महानगरमा अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भएको छैन, तपाईंहरु पोखरा फर्केर छलफल गरेर उम्मेदवारको टुङ्गो लगाउनुस् भनेपछि हामी त्यसैको तयारी गरिरहेका छौँ।’ 

एकीकृत समाजवादीबाट मेयरमा प्रस्तावित आचार्य पोखराका प्रभावशाली नेता मानिन्छन्। तर एकीकृत समाजवादी कास्कीको अध्यक्ष समेत रहेका उनले एमालेबाट जति कार्यकर्ता आफ्नो नयाँ दलमा तान्न सक्थे, त्यसमा उनी सफल नभएको टिप्पणी पोखरामा गरिन्छ। 

अहिले आचार्य र उनको दल एकीकृत समाजवादीले पोखरामा भोटको जुन अंक गणित देखाउँदै छ, त्यही आधारमा आचार्यको नेतृत्वमा चुनावमा गए ‘निश्चित रुपमा हारिने’ प्रचार कांग्रेसका स्थानीय नेताहरू गर्दैछन्। जुन कुरा बारम्बार दोहोर्याएर उनीहरू केन्द्रका नेताहरूलाई प्रभावमा पार्न खोज्दैछन्। 

कांग्रेस बाहेकका दलबाट मेयरमा गठबन्धनको उम्मेदवार बनाइए कांग्रेस समर्थक मतदाताले विपक्षी दलका उम्मेदवारलाई मतदान गर्न सक्ने चेतावनी समेत दिँदै उनीहरूले गएको स्थानीय निर्वाचनमा कांग्रेसले गण्डकीमा पाएको ४२१,३२६ मत ‘यताउती’ हुन नदिन पनि कांग्रेसकै उम्मेदवार चाहिने तर्क गर्दैछन्।

२०७४ सालको स्थानीय निर्वाचनमा गण्डकीमा ५१९,४३० मत पाएर एमालेले कांग्रेसलाई ९८ हजार १०४ मतको अन्तरले पछाडि पारेको थियो। 

एमाले फुटेर दुईटा भएकोले यसपालि फाइदा उठाउन सकिने देखेर उत्साहित भएका कांग्रेसका नेताहरूले माओवादी केन्द्रले गएको निर्वाचनमा पाएको ८०,३७६ मत निर्णायक हुने आकलन गरेका छन्। त्यसैले आइतबार बुझाइएको पोखराको मेयर पदका आकांक्षीहरुको लामो सूचीमा बहालवाला मन्त्रीसम्म जोडिन आइपुगेका छन्। 

कांग्रेसको पोखरा महानगर समितिमा १८ जना मेयर र १० जना उपमेयरका उम्मेदवारका आकांक्षीको नाम दर्ता गराइएको छ।

पोखराको चुनाव आफ्नै नेतृत्वमा लडिनु पर्ने मागप्रति केन्द्रीय नेतृत्व राजी भैसकेको बुझाइमा यी आकांक्षीहरूले नाम दर्ता गराएका हुन्। काठमाडौँबाट फर्किएका एकजना केन्द्रीय सदस्यले कांग्रेसको चुनावी रणनीति नेपालखबरलाई सुनाएका थिए।

ती नेताले शुक्रबार भनेका थिए, ‘गठबन्धनका सहयोगी दलहरूलाई केही समय अल्मल्याइए पनि चुनावको मुखमा तिनलाई अन्य नगरपालिकाहरूमा स्थान दिएर मनाइन्छ र पोखरामा हाम्रै नेतृत्वमा चुनाव लडिन्छ।’ 

गएको स्थानीय निर्वाचनमा कांग्रेसले पोखरा महानगरपालिकाभित्र १० वडाध्यक्ष र ३८ सदस्य जितेको थियो भने सबैभन्दा ठूलो अन्नपूर्ण गाउँपालिकामा अध्यक्षसहित ६ वडाध्यक्ष र २४ सदस्य हात पारेको थियो।

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस सबैभन्दा कमजोर देखिएको थियो। त्यहाँ उसले ६ सिट मात्र पाएको थियो। त्यस्तै रुपा गाउँपालिकामा ३ वडाध्यक्ष र ५ सदस्य प्राप्त गरेको थियो। माडी गाउँपालिकामा भने ३ वडाध्यक्ष र १८ सदस्य जितेको थियो। 

पोखरामा बहुदलपछि सम्पन्न पहिलो स्थानीय निर्वाचनमा कांग्रेसका भोला थापाले एमालेका हितकाजी गुरुङलाई हराएर मेयर बनेको ३० वर्ष भैसक्यो।

त्यसयता भएका स्थानीय निर्वाचनमा एमालेले करिब करिब एकछत्र राज गर्नेगरि चुनावी नतिजा हात पार्दै आइरहेको छ।

अहिलेको निर्वाचनबाट ‘३० बर्षमा खोलो फर्कने’ आश गरिरहेको कांग्रेस नेतृत्व पोखरा महानगरभित्र राजकाज गर्ने मौका गुमाउन चाहँदैन। त्यसैले कांग्रेस अहिले गठबन्धनका दललाई मनाउँदै आफ्नो नेतृत्वमा चुनावमा होमिने गरि दौडधूप गरिरहेको छ।  

तर गठबन्धन दल तयार भएपनि कांग्रेस नेतृत्वलाई एमालेको गढ भत्काउन सोचेजस्तो सजिलो देखिँदैन। यहाँ के भुल्नुहुँदैन भने गएको निर्वाचनमा कांग्रेस र माओवादीबीच भएको तालमेलले राम्ररी काम नगर्दा एमालेले जित हात पारेको थियो।

यसपालि पनि स्थानीय स्तरमा जसरी गठबन्धन दलबीच असमझदारी बढिरहेको देखिन्छ, त्यसको प्रभाव र असर मतदातामा अवश्य नै पर्ने छ।

गएको निर्वाचनमा एमालेको मेयरको उम्मेदवारसँग १३,७०२ मत र उपमेयरमा १२,३१० मतको अन्तरले कांग्रेसका उम्मेदवार पराजित भएका थिए। अहिले यो अन्तर नाघेर विजयी हुने दाबी कांग्रेसले गरेपनि एमालेको अविचलित मतदाताका कारण सहज हुने छैन।

त्यसमाथि कांग्रेसका २८ जना आकांक्षीमध्ये कसले टिकट पाउँछ र मुख्य प्रतिद्वन्द्वी एमालेले कसलाई उम्मेदवार छनौट गर्छ भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्नेछ। 

स्थानीय स्तरमा केन्द्रीय नेताहरुको ‘पकेट राजनीति’ का कारण उम्मेदवार चयनमा हुने आन्तरिक गुटबाजीले एमालेका मतदातालाई कत्तिको असर पार्छ, त्यसले पनि कांग्रेसको उम्मेदवारको हैसियत मापन हुने पक्का छ।

चुनाव स्थानीय भएपनि उम्मेदवार छनौटको अधिकार एमाले र कांग्रेस दुबै दलको काठमाडौँ गैसकेको छ। बल पोखरामा हैन, बुढानिलकण्ठ र बालकोटको हातमा छ।

अब केन्द्रीय नेतृत्वले लिने निर्णयले नै पोखरामा एमालेले आफ्नो वर्चश्व कायम राख्न सक्छ वा ३० वर्षपछि कांग्रेसको खोलो फर्कन्छ भन्ने कुराको तय हुनेछ।

डेटलाइन पोखरा–थप स्टोरी

१. जो १७ वर्ष अमेरिका बसेर फर्किए, ‘केही गर्छु’ भन्दै व्यासको मेयर उम्मेदवार बने (भिडिओ)

२. ​पोखराकी ‘रोलमोडल’ उपमेयरको भिडिओ–कथाः जो मेयर बन्ने दौडबाट अलग हुँदा धेरैले आश्चर्य माने

३. कार्टुनिष्ट वात्स्यायनको भिडिओ–कथाः राजनीति छ्याङ्ग छैन तर उज्यालो दिन आउँछ, आउँछ

४. २२ अर्बमा तयार भयो पोखरा विमानस्थल, सञ्चालनमा ल्याउन यी चार अप्ठ्यारा (भिडिओ)

५. बन्दीपुरमा एक्लै भिड्न सक्छौँ, गठबन्धन गर्न पनि तयार छौँः अध्यक्ष थापा (भिडिओ) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .