ad ad

राजनीति


कांग्रेस नेताको त्यो हेपाइ, माधव नेपालको यो जित!

कांग्रेस नेताको त्यो हेपाइ, माधव नेपालको यो जित!

फाइल फाेटाे


रुपक चौलागाईं
बैशाख ६, २०७९ मंगलबार २१:३०, काठमाडौँ

‘कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ। लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछन्।’ 

२१ फागुन ०७७ मा कांग्रेस उपसभापति धनराज गुरुङले गरेको सार्वजनिक भाषणको अंश हो यो। 

त्यसको दुई हप्तापछि उपसभापति गुरुङले ६ चैत ०७७ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिखारीसँग तुलना गरे।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गरेका गुरुङको आरोप थियो, ‘प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ।’

उपसभापति गुरुङले यी दुई सार्वजनिक भाषणमा मात्रै होइन, स्वयम् प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासँग पनि गठबन्धन गर्न नहुने स्पष्ट बताइसकेका छन्।

तर, देउवा भने गठबन्धन टुटाएर निर्वाचनमा अघि बढ्न नसक्ने भन्दै नेताहरुलाई रिझाउन लागिरहेका छन्।

यसैबीच सोमबार ५ वटा महानगरको भागवण्डा टुंगो लगाएको सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाबारे विवाद थियो।

सत्तारुढ गठबन्धनमा दल नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले अडान नछाडेपछि सोमबार अबेरसम्मको छलफल बिनानिष्कर्ष सकिएको थियो।

मंगलबार बिहानैदेखि कांग्रेस सभापति देउवा पोखरेली नेताहरुलाई काठमाडौं बोलाएर सहमत गराउन सक्रिय भए।

गठबन्धन अपरिहार्य भन्दै पोखरा महानगर छाड्नुपर्ने आफ्नो ‘बाध्यता’ देउवाले सुनाएपछि पोखरेली नेताहरु निराश भएर बालुवाटारबाट फर्किएका थिए। 

त्यसपछि बालुवाटारमा बसेको बैठकले पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको छ।

त्यो हेपाई, यो जीत!
देशभरका ५ वटा महानगरमध्ये एउटा आफूले पाउनुपर्ने अडानमा थियो, एकीकृत समाजवादी। जसअनुरूप एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा दाबी गरेको थियो। 

एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले पोखराको मेयरमा आफूलाई पार्टीले अघि नसारे पुनः एमाले फर्कने चेतावनी दिएपछि माधव नेपाललाई दबाब बढेको थियो।

कांग्रेसका नेता कार्यकर्ता भने पोखरामा एकीकृत समाजवादी निकै कमजोर रहेकाले नेतृत्व स्वीकार्न नसक्ने बताउँदै आएका थिए। गठबन्धनको बैठकमा पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामाथि अडान लिएका थिए।

‘गठबन्धनमा भएकामध्ये पोखरामा कांग्रेस सबैभन्दा बलियो छ, चुनाव जित्ने हो भने पोखराको मेयर कांग्रेसले लिनुपर्छ’, उनले भनेका थिए। 

पोखरा महानगरपालिकामा एकीकृत समाजवादी कमजोर रहेको भन्दै मतभार हेरेर मात्र निर्णय लिनुपर्ने कांग्रेस नेताहरुको दाबी थियो।

गत भदौमा मात्रै नेकपा एमालेबाट विभाजन भएर आएको नेकपा एकीकृत समाजवादीको पोखरामा ‘जनमत’ छैन भनेर कांग्रेस नेताहरुले बारम्बार ‘हेपाहा’ भाषा बोलेका थिए।

जसरी पनि पोखराको मेयर आफैंले लिनुपर्ने दबाबमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यसमा‘संघर्षपूर्ण जीत’ निकालेका छन्।

दलहरूको रस्साकस्सीबीच पहिलोपटक कलम चिन्हबाट निर्वाचनमा होमिन लागेको एकीकृत समाजवादी एउटा मात्रै महानगर लिएर चमेरा भन्ने कांग्रेस नेताहरुलाई जवाफ दिन सफल भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .