ad ad

राजनीति


जनताको करबाट राजसी ठाँट देखाउने जनकपुरका मेयरले १० वर्षदेखि तिरेका छैनन् खानेपानी महसुल

जनताको करबाट राजसी ठाँट देखाउने जनकपुरका मेयरले १० वर्षदेखि तिरेका छैनन् खानेपानी महसुल

शैलेन्द्र महतो
बैशाख ८, २०७९ बिहिबार ७:१६, जनकपुरधाम

लालकिशोर साह झण्डै पाँच वर्षदेखि जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदमा बिराजमान छन्। 

तत्कालीन राजपा नेपालबाट नगरप्रमुखमा निर्वाचित भएयता सरकारी सेवासुविधाको आडमा उनको र घरपरिवारको जीवन शैली फेरिएको छ। उनी बस्ने घरको डेकोरेशन, लुवाइखुवाई, चालढाल, रहसनसहन बदलिएको छ। 

उनले सरकारी ढुकुटीबाट नगरपालिका कार्यालयको आफ्नो कार्यकक्षको शौचालयमा एसी जडान गरेका छन्। आफू चड्न उनले डेढ करोडको गाडी खरिद गरेको तथ्यले पनि उनको जीवन शैलीमा आएको अप्रत्याशित परिवर्तन बुझ्न सकिन्छ। 

चुनाव नजिकिँदै जाँद उनले दैनिक जसो सहभागि हुने कार्यक्रमको तस्बीरसहितको पोस्ट फेसबुक वालमा पैसा तिरेर ‘स्पोनसर्ड’ गर्ने गरेका छन्।

जनताको मिहिनेत र पसिनाको एक–एक रुपैयाँ करबाट यसआरामको जीवन विताइरहेका मेयर साहले आफूले उपभोग खानेपानीको महसुल भने नतिरेको तथ्य फेला परेको छ। 

सरकारी ढुकुटीमा रजगज गर्दै आएका मेयर साहले आफ्नो घरमा प्रयोग गर्दै आएको पानीको महसुल १० वर्षभन्दा बढी समयदेखि तिरेका छैनन्। उनले पानीको महशुल नतिरेको सुन्दा कतिपयलाई अपत्यारिलो जस्तो लाग्नु स्वभाविक हो।  सुन्दा पनि कस्तो लाजैमर्दो कुरा जस्तो । तर यथार्थ भने यही हो।

मेयर साहले १० वर्ष बढीदेखि सरकारी धाराबाट खाएको पानीको महसुल नतिरेको रहस्य फेला परेको छ । सूचनाको हक प्रयोग गरेर सूचना मागेपछि खानेपानी संस्थानले नेपालखबरकर्मीलाई उपलब्ध गराएको विवरणमा मेयर साहले १० वर्ष भन्दा बढी समयदेखि विद्युत महसुल नतिरेको पाइएको हो। 

मेयर साहले नतिरेको खानेपानीको महशुल १ लाख ४६ हजार रुपैयाँ पुगेको छ। जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्दचोक भन्दा पूर्व रहेको मेयर साहको घरमा उनकै नाममा खानेपानीको धारा जडान छ । यो महसुल गत चैत मसान्तसम्मको हो। 

खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दा पनि मेयर साहले पदको आडमा टेरपुच्छर लाएका छैनन्। डरको कारण संस्थानका कर्मचारीले पनि उनको धाराको लाइन काट्ने हिम्मत गर्न सकेका छैनन्। 

उल्टै पानीको महसुल छुटका लागि मेयर साहका घरपरिवारका सदस्यले पटक–पटक संस्थानका कर्मचारीलाई दबाब दिएको कार्यालय स्रोतले जनाएको छ। 

‘हामीले महसुल बुझाउन पटक पटक ताकेता गर्यौ । तर मेयर साहले कहिल्यै वास्ता गर्नु भएन। उहाँको परिवारका सदस्य आएर महसुल तिर्दैनौं । जसरी पनि छुट गर्नुपर्छ भन्दै दबाब दिन्छन्। हामीले महसुल तिर्नै पर्छ भन्दै आएका छौं’ एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने।

त्यति मात्र होइन मेयर साहकै आफन्त पर्ने वडा नम्बर ८ मै घर भएका दिलीप साहकी श्रीमती विना साहको नाममा रहेको धाराको महसुल पनि वर्षौदेखि नतिरेको पाइएको छ। 

बिनादेवी साहको नाममा ९५ हजार ७३४ रुपैयाँ खानेपानीको महसुल बाँकी छ। मेयरको आफन्त हुँ भन्दै उनले पनि खानेपानीको महशुल तिर्न मानेकी छैनन्। उनले पनि महसुल छुट गर्न दबाब दिने गरेको कार्यालयका ती कर्मचारीले बताए। 

मेयर साह आगामी चुनावका लागि पुनः जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन्। 

तर, यसपटक निर्वाचन आयोगले सरकारी महसुल र सरकारी बेरुजु रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ। यसले उम्मेदवारी दर्ता गराउनु अघि मेयर साहले खानेपानीको महसुल अनिवार्य तिर्नै पर्ने बाध्यता छ। 

कर्मचारीले धारा काट्ने आँट गरेनन्
हुन त वीरगञ्जस्थित खनेपानी संस्थाले खानेपानीको महसुल नतिरेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको धाराको लााइन काटेको थियो। तर जनकपुर संस्थानका कर्मचारीले त्यस्तो आँट देखाएका छैनन्। 

मेयर साहले नै पानीको महशुल नतिरेपछि जनकपुरका अन्य प्रतिष्ठित व्यक्तिहरुले वर्षौदेखिको महसुल तिर्न नमानेको पाइएको छ। 

जकपुरकै अर्का प्रतिष्ठित व्यक्ति तमलोपाका नेता डा. विजय सिंहमाथि पनि दुईवटा खानेपानी धाराको झण्डै २ लाख रुपैयाँ महसुल बाँकी छ। सिंहको जनकपुरधाम उपहानगरपालिका १० मा छुट्टा छुट्टै दुई ठाउँमा रहेको घरमा धारा जडान छ। 

उनकै परिवारका सदस्य निर्मला सिंहको नाममा रहेको खनेपानी धाराको १ लाख ४ हजार ११९ रुपैयाँ र राजकुमारी सिंहको नाममा रहेको खानेपनी धाराको ७७ हजार ८८४ रुपैयाँ महसुल बाँकी रहेको संस्थानले जनाएको छ। सिंह संविधानसभा सदस्य हुन्। 

त्यस्तै रघुपति मिष्ठान भण्डारले खरिद गरेको दुईवटा घरको धाराको १ लाख ६० हजार भन्दा बढी रकम बाँकी छ। खैरुन खातुनको नाममा रहेको धाराको ८४ हजार ८८० रुपैयाँ र लक्ष्मी देवीको नाममा रहेको धाराको ८४ हजार ९४६ रुपैयाँ महसुल बाँकी रहेको संस्थानले जनाएको छ।
  
जनकपुरधाममा झण्डै साढे ४ हजार घर तथा संघसंस्थामा खानेपानीको धारा जडान छ । अहिले पनि ३ करोड २० लाख रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान कार्यालय जनकपुरले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .