ad ad

राजनीति


बुटवलमा यसकारण एमालेका शिवराज सुवेदीले पाएनन् टिकट, बाबुराम भट्टराईले हात पारे

सडक बिग्रँदा मेयरको पनि बिग्रियो ‘भाग्य’
बुटवलमा यसकारण एमालेका शिवराज सुवेदीले पाएनन् टिकट, बाबुराम भट्टराईले हात पारे

एमालेले बुटवलमा शिवराज सुवेदीबाट खोसेर बाबुराम भट्टराईलाई मेयरको टिकट दिने निर्णय गरेको छ


जेवी पुन मगर
बैशाख ११, २०७९ आइतबार ०:२५, बुटवल

बुटवल–सुनौली जोड्ने ६ लेनका चिल्ला सडकलाई भौतिक पूर्वाधारको सबैभन्दा गतिलो मानकको रुपमा पेश गरिन्छ। बुटललबाट १५ मिनेटमा निर्धक्क भैरहवा पुग्न सकिने २१ किमि लामो यो सडकसँग जोडिएको भैरहवा– लुम्बिनी खण्डको अर्को सडक पनि अहिले फराकिलो र चिल्लो बनाइएको छ। 

तर पूर्व–पश्चिम– उत्तर–दक्षिण जोड्ने व्यापारिक केन्द्र बुटवल सहरको मुटुमा अवस्थित राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ३ किमि लामो ब्यस्त सडक चाहिं ४ बर्षदेखि धुलाम्मे र खाल्डाखुल्डीका कारण हिंड्नै सास्ती हुनेगरि बिग्रिएको छ।

राजनीति बिग्रिएपछि त्यसको प्रभाव कसरी विकास निर्माणमा पर्छ भन्ने कुराको साक्षी यो सडक भएको छ। प्रदेश र स्थानीय सरकार संचालन गरिरहेको नेकपाको विभाजनपछि उसको नेतृत्वमा चलिरहेको प्रदेश सरकार एमालेको भागमा पर्यो।

त्यसपछि अलग भएका माओवादी र नेकपा एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरि सरकारमाथि निरन्तर दबाब सिर्जना गर्दै गयो र अन्ततः अंकगणित आफ्नो पक्षमा पार्न सफल भइ एमालेलाई सरकारच्यूत बनायो।

सरकार खोसाखोसको यो प्रक्रियामा विकास निर्माणका काम पनि अवरुद्ध हुन पुगे। पहिला सडक बिस्तारका निम्ति मुआब्जा लिइसकेका जग्गाधनीहरुले अदालतमा मुद्दा हालि काम रोकिदिएकाले निर्माण कार्य सुस्त भैरहेकोमा दलबीच चलेको खिचलोको फाइदा ठेकेदारले पनि उठाउन थाले।

तिनले काम लम्ब्याउन बहानाबाजी गर्न थाले। पूर्व मेयर तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ काम लम्ब्याउन पाए लागत बढाई त्यसबाट आर्थिक आर्जन बढ्ने हुनाले यसमा सरकारले पनि मौन स्विकृति दिएको आरोप लगाउँछन्। 

सुरुमा सडक वरपरका ब्यापारीले सडक विस्तारमा भाँजो हाले भने पछि ठेकेदारले मौकाको फाइदा उठाई काम रोक्न थालेपछि सडकको अवस्था झन बिग्रँदै गयो। दिनहुँ सास्ती भोग्नुपरेपछि संघीय सरकारको परियोजना भएतापनि जनताले सडक दुर्दशाको अपजस जति सबै स्थानीय सरकारको टाउकोमा हालिदिए। अन्य ठाउँमा झैं यहाँपनि प्रदेश सरकारको अस्तित्व छायामा रहेकोले अपजस जति स्थानीय नेतृत्वको टाउकोमा गएको हो।  

श्रेष्ठ भन्छन्, ‘जनताले हेर्ने समस्या हो। उसले स्थानीय सरकार चिन्दछ। त्यसैले अपजस स्थानीय सरकारको टाउकोमा गयो।’

बुटवल उपमहानगरपालिका चलाइरहेका एमालेका मेयर शिवराज सुवेदीले राजमार्ग चौराहादेखि गोलपार्कसम्मको बिग्रेको सडकको अपजस आफ्नो नभई संघ र प्रदेश सरकारको हो भनि सम्झाउने प्रयत्न गरेनन्।

त्यसैको परिणाम उनले स्थानीय निर्वाचनमा भोग्नु पर्यो। बिग्रिएको सडकका कारण सुवेदीको जनाधार खस्किएकोले उनलाई मेयरको टिकट दिननहुने भन्दै चलेको लविङ्ले काम गरेको छ।

एमालेका प्रभावशाली नेता शंकर पोखरेलका नजिकका मान्छे भनेर चिनिने सुवेदीले प्रदेश राजधानी बुटवलबाट भालुवाङ सार्न शंकर पोखरेललाई साथ दिएकोमा बुटवलबासी रुष्ट थिए। एकजना स्थानीय नेताको भनाईमा त्यसमाथि उनको धेरै ‘ल्याङ ल्याङ’ गर्ने बानीले कार्यकर्ता दिक्क थिए।

यी सबै जोडबल मिल्न गएपछि यसपालि पनि मेयर पदमा उठ्न खोजेका सुवेदीले टिकट पाएनन्। मेयरको टिकट बुटवलका प्रभावशाली नेता तथा शंकर पोखरेलका प्रतिद्वन्द्वी विष्णु पौडेलका उम्मेदवार औषधी ब्यवसायी बाबुराम भट्टराईले हात पारे।

भिडिओ:

(सुदिप भण्डारीको सहयोगमा। भिडिओ: विशाल कार्की)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .