ad ad

राजनीति


‘काकाकुल धरान’का हर्क साम्पाङ : जसको मुख्य चुनावी मुद्दा नै खानेपानी

दस वर्षदेखि निरन्तर आन्दोलित
‘काकाकुल धरान’का हर्क साम्पाङ : जसको मुख्य चुनावी मुद्दा नै खानेपानी

फाइल फोटो


सुमन पुरी
बैशाख १७, २०७९ शनिबार २०:२, धरान

सत्ता गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा हुने मानिएको धरान उपमहानगरपालिकामा केही दिनयता एकजना उम्मेदवारले चर्चा बटुलिरहेका छन्।

अनौठो प्रचार शैली र पृथक एजेन्डासहित चुनावी अभियानमा होमिएका ती उम्मेदवार हुन् हर्क साम्पाङ। स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हर्क आफूलाई संवाहकका रुपमा चिनाउन चाहन्छन्। 

पहाड गाउँ खोटाङबाट धरान झरेका उनी बितेको १० वर्षदेखि धरानबासीको प्रमुख समस्या रहेको पानी माग्दै आन्दोलनरत छन्। पूर्वको काकाकुल सहरका रुपमा परिचित धरानमा हरेक पटक खानेपानी चुनावी एजेन्डा बन्छ अनि सेलाउँछ। 

हिउँदमा खानेपानी अभावले धरान काकाकुल बन्छ। धरानका धाराहरुमा पानी थाप्न गाग्री र तुम्लेटको लाइन लामो हुन्छ। उनी यही मुद्दा बोकेर वर्षौँदेखि धरानका सडक र गल्ली गल्लीमा पुगिरहेका छन्। 

धरान सरोकार मञ्च गठन गरेर पानीका लागि आन्दोलनको नेतृत्व गर्ने कृष्ण पालिखे अहिले हर्क साम्पाङसँग छैनन्। तर उनको एजेण्डा मेयरका प्रत्यासी हर्कले धरानभर फैलाउँदै छन्।

खानेपानी संकट समाधान गर्न धरानमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक(एडीबी) परियोजना १० वर्षअघि शुरु भएको थियो। 

एडीबीको को ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदानमा खानेपानी आयोजन शुरु नि भयो।

यो परियोजनाका लागि नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशतसहित करिब २ अरब १६ करोड लगानी थियो।

चारकोसे जंगलको भूमिगत श्रोतबाट पानी निकालेर वितरण गरेमा धरानको पानी समस्या समाधान हुने तत्कालीन नगरपालिकाको योजना थियो।

तलीय संयन्त्रमा चलेको त्यो बेलाको धरान नगरपालिकाले आयोजना शुरु गर्दा धरान सरोकार मञ्चले यो फेल हुने दावी गरेको थियो।

मञ्चको नेतृत्व गरेका साम्पाङलगायत अभियन्ताको तर्क थियो, 'चारकोसेबाट होइन, सप्तकोसीबाट ल्याउने हो भने पानीको समस्या समाधान हुन्छ।' 

तर नगरपालिकाले एडीबी परियोजना नै अगाडि बढायो। एडिबीको परियोजना त अगाडि बढाइयो तर त्यसले धरानको खानेपानी समस्या समाधन गर्न सकेन। 

यही आयोजनामा भ्रष्टचार भएको भन्दै साम्पाङले आन्दोलन शुरु गरे।  सडकका गल्ली गल्लीमा उनले यसबारेमा क्याम्पेनिङ थाले।

उनले आयोजना र उपमहानगरसँग उक्त परियोजनामा भएको खर्चको हिसाब मागे। धरानमा एडिबीको प्रोजेक्ट असफल भएको भन्दै नागरिक आन्दोलनको अगुवाइ गरेका साम्पाङ पक्राउ परे।

दुई वर्षअघि पक्राउ परेका साम्पाङको आरोप छ, 'धरानमा राजनीतिक दलहरुले मिलेर भ्रष्टचार गरे। हिसाब देखाउन नसकेपछि दलहरुकै योजनामा मलाई पक्राउ गरियो।'

उनले लगाएको भ्रष्टचार आरोप अहिलेसम्म प्रमाणित त भएको छैन, तर उनी यही मुद्दा आन्दोलनले धरानमा स्थापित भए।

धरान सरोकार मञ्चमार्फत त्यहाँको समाजिक आन्दोलनमा होमिएका साम्पाङको आन्दोलन पनि पानी माग्नमै केन्द्रित छ।

कहिले खानेपानी संस्थान घेराऊ, कहिले खानेपानी मन्त्रालयमा डेलिगेसन र धर्ना त, कहिले धरानका चोक चोकमा आन्दोलन।

पछिल्लो समय उनले धरानको खानेपानीको श्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमणलाई समेत बलियो साथ उठाए।

राजनीतिक दलकै मिलेमतोमा जलाधार क्षेत्र अतिक्रमण गरेर व्यक्तिको नाममा पारिएको भन्दै साम्पाङले विरोध गर्दै आएका छन्।

सामाजिक अभियन्ताको परिचय बनाएका साम्पाङ बेला बेला पक्राउसमेत पर्दै आएका छन्।

कहिलेकाहीँ विभिन्न समूहको निशानामा समेत पर्दै आएका छन् उनी। अघिल्लो वर्ष उनले सेउती क्षेत्रमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् गरेको भन्दै विरोध गरेका थिए।

त्यसक्रममा दुवै पक्षबीच झडपसमेत भएको थियो। झडपमा उनी घाइते भए।  उनले त्यसबेला धरानका मेयर तिलक राईले आफूमाथि आक्रमण गराएको आरोप लगाएका थिए।

उनले एक दशकयता धरानको सुशासन र जवाफदेहिताका लागि वकालत गर्दै आएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र बेथितिविरुद्ध पनि आन्दोलन छेडेर सक्रिय छन्।

अघिल्लो उपनिर्वाचनमा उनी मेयरको उम्मेदवार बनेका थिए। धरानको सुशासन र जवाफदेहिताको पक्षमा कुरा गर्ने साम्पाङले त्यसबेला सर्दु जलाधार क्षेत्र  दलका नेताहरुको मिलेमतोमा मासिएको आरोप पनि लगाए।

उनी धरानका जनताको पक्षमा वकालत गरिरहेका छन्। उनको आन्दोलन कहिलेकाहीँ हिंसात्मक समेत हुने गरेको छ। यसले उनी बेलाबेला पक्राउ पर्ने गरेका छन्।

उनको चुनावी मुद्दा छ,'म धरानलाई स्मार्ट सिटी बनाउने गफ दिन्न तर धराने जनतालाई पानी खुवाउँछु र बिपी प्रतिष्ठानलाई सुधार्छु।'

उनी समाजिक सञ्जाल र युट्युबमा पनि उत्तिकै सक्रिय छन्। उनले अपलोड गरेका भिडियोमा हजारौँले गर्छन् लाइक र कमेन्ट गर्छन्।

धरानको मेयर पदका प्रत्यासी हर्कले आफूसँग धरानको पानी समस्या समाधान गर्ने, बिपी प्रतिष्ठान सुधार्ने र सुशासन कायम गर्ने योजना रहेको बताए।

'म धेरै कुरा गर्छु भनेर मेयर पदमा उठेको होइन', उनले भने, 'धरानको  बेथिति अन्त्य गर्न उठेको हो। मेरो मुद्दा स्थापित गर्न मेयर बन्ने हो।'

धरानमा एमालेबाट उनीसँग मञ्जु भण्डारी र गठबन्धनबाट किशोर राई मेयरका प्रत्यासी छन्। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .