ad ad

राजनीति


विराटनगरमा सत्ता गठबन्धन छाड्दै माओवादी, प्रमुख पदमा स्वतन्त्रलाई सघाउन थाल्यो

विराटनगरमा सत्ता गठबन्धन छाड्दै माओवादी, प्रमुख पदमा स्वतन्त्रलाई सघाउन थाल्यो

फाइल तस्बिर


सुमन पुरी
बैशाख २०, २०७९ मंगलबार १६:३४, विराटनगर

विराटनगर महानगरपालिकामा नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट करिब बाहिरिएको छ।

कागजी रुपमा गठबन्धनमै रहे पनि माओवादी अनौपचारिक रुपमा एक्लै अघि बढ्ने भएको हो। 

प्रमुख र उप प्रमुख पद नपाएको माओवादीले विराटनगरमा स्वातन्त्रबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेलाई सघाउन थालेको छ। 

उनी माओवादीकी नगर सचिव पनि हुन्। गठबन्धनबाट उमेदवार बन्न नपाएपछि उनी स्वतन्त्रबाट उठेकी छन्। 

माओवादी नेता तथा कार्यकर्ताहरु नमिताका लागि मत माग्दै हिँड्न थालेका छन्। 

सामाजिक सञ्जालमा पनि माओवादी नेता तथा कार्यकर्ताले नमिताका लागि मत मागिरहेका छन्। 

माओवादी केन्द्र प्रदेश १ ले पार्टीको नीतिविपरीत गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी दिएका १४ जनलाई कारवाही गरिसकेको छ। 

जसमा २ जना प्रदेश समिति सदस्य, १ जना उदयपुरका प्रदेश विभाग प्रमुखसमेत रहेका छन् । तर नमितालाई भने कारवाही गरिएको छैन। 

विराटनगर महानगरमा माओवादीले वडा तहमा छुट्टै उमेदवार उठाएको छ। 

गठबन्धन दलहरुबीच प्रमुख र उप प्रमुखबाहेक वडाअध्यक्ष लगायतका पद बाँडफाँट भएको छैन। 

पद बाँडफाँट नभएको र वडामा पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले माओवादी एक्लै चुनावी प्रचारमा रहेको एकजना नेताले बताएका छन्। 

गठबन्धनमा प्रमुख पद पाएका कांग्रेस र जसपा संयुक्त रुपमा घरदैलो कार्यक्रममा छन्। 

माओवादीले एक्लै घरदैलो र चुनावी कार्यक्रम गर्दै आएको छ। स्वतन्त्रबाट उपप्रमुखकी उम्मेदवार नमिताले आफूले पार्टीबाट राजीनामा दिएको बताइन्। 

गठबन्धनका दलहरुले माओवादीलाई वास्ता नगरेकाले कार्यकर्ताहरूले आफूलाई साथ दिएको बताइन्।

महानगरमा जसपाबाट राजीनामा दिएर मेयर पदमा उमेश यादव उम्मेदवार बनेका छन्। 

यादव र नमिता दुवैले लालटिन चुनाव चिह्न पाएका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि जसपा र माओवादीको गठबन्धन थियो।

अघिल्लो निर्वाचनमा उमेश मेयर र उपमेयरको उम्मेदवारमा नमिता नै थिए। 

यस पटक पनि माओवादीले उमेश यादवलाई अनौपचारिक रुपमा सहयोग गर्ने देखिएको छ। माओवादीका प्रदेश उपाध्यक्ष शिव डाँगीले आफूहरु गठबन्धनकै पक्षमा रहेको दावी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .