ad ad

राजनीति


माओवादी नेता भन्छन् : कांग्रेससँगको चुनावी गठबन्धन नौटंकी मात्रै भयो

कांग्रेस नेताहरुले उम्मेदवारसँग पैसा उठाएको आरोप
माओवादी नेता भन्छन् : कांग्रेससँगको चुनावी गठबन्धन नौटंकी मात्रै भयो

फाइल तस्बिर


सुमन पुरी
बैशाख २१, २०७९ बुधबार १७:४८, मोरङ

नेकपा माओवादी केन्द्रका प्रदेश १ कमिटीका सचिव गणेश उप्रेती 'सुशील'ले मोरङमा नेपाली कांग्रेससँगको गठबन्धन नौटंकी मात्रै भएको बताएका छन्। 

उनले प्रदेशका धेरै पालिकाहरुमा पनि कांग्रेससँग गठबन्धन भए पनि त्यसलाई देखावटीको संज्ञा दिए । 

उप्रेतीले केन्द्रीय निर्देशन गठबन्धन गरेर जानु  भन्ने भए पनि तल्लो तहमा कांग्रेसले दम्भ देखाएको नेपालखबरसँग बताए। 

उनले गठबन्धनका लागि अधिकतम् प्रयास गरे पनि कांग्रेसकै दम्भका कारण गठबन्धन नौटंकीमा परिणत भएको गुनासो। 

कांग्रेसबाट उम्मेदवार छनौटको अधिकार पाएका नेताहरुका कारण माओवादीसँगको गठबन्धन अर्थहीन भएको पनि उनले बताए। 

उम्मेदवार छान्ने जिम्मा पाएका कांग्रेसका केही नेताहरुले आफ्नै दलका उम्मेदवारसँग पैसा उठाएको पनि आरोप लगाए। 

'कांग्रेसका उम्मेदवार छनौट गर्ने अधिकार लिएका नेताहरुले आफ्नै पार्टीका प्रमुख पदका आकांक्षीसँग आर्थिक लेनदेन गरे', उनले भने, 'आर्थिक लेनदेन भइसकेकाले माओवादी लगायत गठबन्धनका अन्य दललाई पद दिन तयार भएनन्।' 

उप्रेतीले गठबन्धन भनिएपछि प्रमुख पदसहित वडा बाँडफाँड गर्ने विषयमा कांग्रेससँग छलफल गर्न खोजे पनि उनीहरुले संवाद नै गर्न नचाहेका पनि गुनासो गरे।

उम्मेदवारको मनोनयन दर्ताको दिनदेखि माओवादी र कांग्रेसको संवादसमेत हुन नसकेको उनले खुलासा गरे।

सचिव उप्रेतीका अनुसार माओवादीले मोरङका वडामा एक्लै उम्मेदवार उठाएको छ। 'प्रमुख पदमा माओवादीका उम्मेदवार नै छैनन्। यो कसरी गठबन्धन भयो?', उनले भने, 'गठबन्धनमा एकले अर्कालाई सहयोग गर्दै मत दिनुपर्ने सैद्धान्तिक सहमति हो। माओवादीलाई कांग्रेसले भोट दिनु नपर्ने तर हामीले कांग्रेसलाई भोट दिनु पर्ने? यो कति सैद्धान्तिक छ?' 

माओवादीलाई कांग्रेसले कहीँ मत हाल्नु नपर्ने भएपछि आफूहरुले कार्यकर्तामाझ कांग्रेसका उम्मेदवारलाई भोट हाल भनेर जान सक्ने अवस्थामा नरहेको उप्रेतीले बताए।

कांग्रेसलाई पनि भोट देऊ भनेर कार्यकर्तामाझ  जाँदा अफ्ठ्यारोमा परिने उनले बताए। 'हामीलाई कांग्रेसले कहाँ मत हाल्छन् भन्ने कार्यकर्ताको प्रश्न छ', उनले भने, 'यसको को जवाफ हामीसँग छैन।' 

कांग्रेससँग ४ पालिका बाँडफाँड 
मोरङका ४ वटा पालिकाहरुमा माओवादी र कांग्रेसबीच प्रमुख पदमा गठबन्धन भएको छ। 

रतुवामाई, सुन्दरहरैँचा, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा प्रमुख पदमा गठबन्धन भएको छ। गठबन्धन भएका सबै पालिकामा माओवादीले उपप्रमुख पद पाएको छ।

रतुवामाईमा माओवादीबाट उपप्रमुखमा सुमन कालिकोटे, सुन्दरहरैँचामा नवराज चापागाईँ, लेटाङमा कृष्ण लम्साल र मिक्लाजुङ गाउँपालिकामा दिनेश पौडेल कांग्रेससँगको गठबन्धनबाट उपप्रमुखमा उठेका छन्। 

कांग्रेस-माओवादी गठबन्धनमा रतुवामाईमा नागेश्वर सिंह, सुन्दरहैँचामा शिव ढकाल, लेटाङमा ज्ञानेन्द्र ढकाल र मिक्लाजुङमा बीबी राई प्रमुख पदमा उठेका छन्। 

मिक्लाजुङमा भने वडा तहमा पनि बाँडफाँट भएको छ। अन्य पालिकामा प्रमुख उपप्रमुखबाहेक वडामा माओवादी र कांग्रेस एक्ला एक्लै छन्। 

यसैगरि माओवादीले पथरी र उर्लाबारी नगरपालिकामा एकीकृत समाजवादीसँग प्रमुख पदमा गठबन्धन गरेको छ। 

उर्लाबारीमा एकीकृत समाजवादीबाट लालबहादुर श्रेष्ठ मेयरमा र माओवादीका शिला भट्टराई उपमेयरमा उठेका छन्। 

पथरीमा माओवादीले प्रमुख पद लिएको छ। त्यहाँ दुई दलीय गठबन्धनबाट माओवादीका जीवनाथ तिम्सिना मेयरको उम्मेदवार छन्। 

यस्तै माओवादीले सुनवर्षी नगरपालिकामा जसपासँग गठबन्धन गरेको छ। त्यहाँ प्रमुखमा रामराजु दास प्रमुख पदका उम्मेदवार छन्। 

माओवादीले जतुवा, धनपालथान, रंगेली, कटहरी र बेलबारीमा प्रमुख उपप्रमुख पदसहित उम्मेदवार बनाएको छ। 

यस्तै कानेपोखरी र ग्रामथानमा पनि माओवादी एक्लै चुनावी मैदानमा छ। 

धनपालमा आनन्दी मण्डल, जतुवामा राजकुमार यादव, रंगेलीमा लिलादेवी संग्रौला, कटहरीमा ईश्वर पाण्डे, बेलबारीमा नरेन्द्र खड्का र कानेपोखरीमा सूर्य धिमाल माओवादीबाट प्रमुखमा उठेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .