ad ad

राजनीति


४४ दिनको अन्तरालमा फेरि भेट्दैछन् प्रधानमन्त्री देउवा र मोदी

भारतले लुम्बिनीमा बौद्ध संस्कृति केन्द्र बनाइदिने
४४ दिनको अन्तरालमा फेरि भेट्दैछन् प्रधानमन्त्री देउवा र मोदी

फाइल तस्बिर


सन्तोष घिमिरे
बैशाख २९, २०७९ बिहिबार १३:३७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा सोमबार मध्यान्ह भेटवार्ता हुने भएको छ। 

देउवा र मोदीबीच ४४ दिनपछि भेट हुन लागेको हो। प्रधानमन्त्री देउवाले भारतीय समकक्षीलाई जेठ २ गते लुम्बिनीमा दिवाभोज दिने कार्यक्रम तय भएको भ्रमण तयारीमा संलग्न सरकारी अधिकारीहरुले बताए। 

चैत १९ गते देउवा र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा पहिले एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय बैठक भएको थियो। त्यसको डेढ महिनापछि देउवा र मोदीबीच फेरि दिवा भोजसहितको बैठक तय भएको हो। 

देउवा र मोदीबीच भेटवार्ता बाक्लिन थालेका छन्। देउवा गत वर्ष असारमा प्रधानमन्त्री भएपछि मोदीसँग तेस्रोपटक प्रत्यक्षरूपमा भेट्दैछन्।

यसअघि दुई प्रधानमन्त्रीबीच गत नोभेम्बर पहिलो साता संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा स्कटल्यान्डमा भेट भएको थियो। त्यसपछि देउवा चैत १८ देखि २० सम्म मोदीको निम्तोमा नयाँ दिल्ली गए।

बुद्ध जयन्तीको अवसर पारेर मोदी आफैं लुम्बिनी आउँदैछन्। त्यहाँ देउवा र मोदीबीच तेस्रो बैठक हुन लागेको हो। 

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले भ्रमणबारे औपचारिकरुपमा केही बताएका छैनन्। परराष्ट्र अधिकारीहरुका अनुसार मोदीको लुम्बिनी भ्रमणको घोषणा आज बिहीबार गर्ने तयारी छ। 

के छन् देउवा–मोदी छलफलका एजेन्डा? 
लुम्बिनीमा हुने भेटमा देउवा र मोदीबीच देउवाको पछिल्लो भारतका सहमति कार्यान्वयनबारे छलफल हुनेछ। 

त्यसैगरी लुम्बिनीलाई भारतका बोधगया, सारनाथ र कुशीनगरसँग जोडेर बौद्ध सर्किट अघि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच छलफल गर्ने तयारी छ। 

मोदीसँगको भेटमा पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीलाई निर्माणको ठेक्का दिने बारेमा पनि कुरा हुने देउवाले खुलासा गरिसकेका छन्। 

दुई दिन अघि गृहजिल्ला डडेलधुरामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भनेका छन् ‘पश्चिम सेती बनाउने विषयमा मोदीजीसँग कुराकानी हुन्छ।’

देउवाले पश्चिम सेती आयोजना अघि बढाउन भारतसँग यही बर्षभित्र सम्झौता गर्ने पक्षमा आफू रहेको बताएका थिए। 

चिनियाँ कम्पनी थ्री गर्जेजसँगको ठेक्का सम्झौता खारेज भएको झन्डै पाँच वर्षपछि देउवा सरकारले भारतलाई उक्त परियोजना निर्माणको ठेक्का दिने तयारी गरेको हो। 

थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने बताएपछि ओली नेतृत्वको सरकारले कम्पनीसँगको सम्झौता खारेज गरेको थियो। त्यसयता परियोजना निर्माण अनिश्चित बनेको थियो।

विदेश सचिवसहित सानो टोली लिएर आउँदै मोदी 
मोदी सानो टोली लिएर लुम्बिनी आउन लागेका हुन्। भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव, भारतीय प्रधानमन्त्री कार्यालय र बिदेश मन्त्रालयका अन्य केही अधिकारीका साथमा मोदी लुम्बिनी आउनेछन्। 

भारतीय प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर वा अन्य मन्त्री सहभागी नरहने स्रोतले बतायो। लुम्बिनीमा हुने २५६६ औं बुद्ध जयन्ती बिशेष समारोहलाई देउवा र मोदीले सम्वोधन गर्नेछन्। 

भारतीय सुरक्षा अधिकारीको एक टोली वायु सेनाको जहाज लिएर बुधबार लुम्बिनी आएर फर्केको छ। 

प्रधानमन्त्री देउवाको निम्तोमा मोदीले लुम्बिनी भ्रमण गर्न लागेका हुन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ। 

विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधिबाट विभूषित गर्ने निर्णय गरिसकेको विश्वविद्यालय महासभाका सदस्य डा. रमेश ढुंगेलले  बताए।

‘भारतीय प्रधानमन्त्रीलाई अनररी डक्टरेट दिनका लागि प्रमाणपत्रसमेत तयार भइसकेको छ। अब विश्वविद्यालय महासभाले यस विषयमा अन्तिम निर्णय लिँदैछ’ ढुंगेलले नेपालखबरसँग भने। लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ। 

पाँचौँ भ्रमणमा लुम्बिनी जाने धोको पूरा हुँदै 
मोदीको यो पाँचौँ नेपाल यात्रा हुनेछ। नेपाल आउँदा कुनै न कुनै धार्मिकस्थलको भ्रमण मोदीको प्राथमिकतामा परेको देखिन्छ। 

उनी पहिलोपटक सन् २०१४ अगष्टमा नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला उनी जनकपुर र लुम्बिनी जान चाहे पनि भ्रमण हुन सकेन। 

त्यसपछि उनी १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन सन् २०१४ को नोभेम्बरमा काठमाडौं आए। उक्त भ्रमणमा मोदी जनकपुर र लुम्बिनी जान चाहेपनि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो। 

मोदी तेस्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए। उनको नेपाल भ्रमण जनकपुरबाट शुरु भयो। 

मोदीलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गरे। मोदीलाई जनकपुरमा भव्य नागरिक अभिनन्दन गरियो। 

त्यसपछि उनी काठमाडौं आएर उच्चस्तरीय भेटवार्ता गरे। पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर उनी फर्केका थिए।  

मोदीको चौथो भ्रमण २०१८ अगस्टमा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए। 

उनले त्यसबेलै लुम्बिनी भ्रमण गर्न चाहे पनि सम्भव भएन। मोदीको पाँचौ नेपाल यात्रा चाहिँ लुम्बिनी मात्रै हुँदैछ। 

लुम्बिनीमा तयारी तीब्र
भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तयारी तीब्र पारिएको छ। २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी उत्रनेछन्। भ्रमण तयारीमा संलग्न अधिकारीहरुका अनुसार मोदीसहितको भारतीय प्रतिनिधिमण्डलको अवतरणका लागि चारवटा हेलिप्याड निर्माण जारी छ। 

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा हेलिप्याड निर्माण जारी छ। हेलिप्याड निर्माणमा करिब ५० मजदुर खटिएका छन्। 

भारतले बौद्ध संस्कृति तथा परम्परा केन्द्र​ बनाउने 
भारत सरकारले लुम्बिनीमा बौद्ध संस्कृति तथा परम्परा केन्द्र निर्माण गर्ने भएको छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले केन्द्र निर्माण शिलान्यास गर्नेछन्।

स्वर्गद्वारी जाने सम्भावना न्यून 
भारतीय प्रधानमन्त्री मोदीले स्वर्गद्वारीको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका थिए। त्यसकारण अघिल्लो साता त्यसबारे छलफल चलेको थियो। तर भारतीय दूतावासका अधिकारीले मोदी स्वर्गद्वारी जाने सम्भावना न्यून रहेको बताए। 

प्युठानका स्थानीय सरकारी अधिकारीले पनि मोदीले स्वर्गद्वारी भ्रमण गर्नसक्नेबारे अघिल्लो साता सामान्य जानकारी आएको बताए। 

‘तर आजसम्म हामीलाई मोदीजी यहाँ आउनेबारे ठोस जानकारी आएको छैन। अघिल्लो साता भ्रमण हुन सक्ने भनिएको चाहिँ हो’ प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .