सत्ता साझेदार एकीकृत समाजवादी पार्टी नेपालनिकट समाजवादी प्रेस संगठन नेपालले पछिल्लो समय सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँट विभेदपूर्ण भएको गुनासो गरेको छ।
बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकले सञ्चार क्षेत्रको नियुक्तिमा कांग्रेसीकरण गरिएको भन्दै सच्याउन आग्रह गरेको हो।
बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा कांग्रेसले एकलौटी नियुक्ति गरेकाले त्यसलाई सच्याउन पार्टीमार्फत माग गरेका छन्। यदि निर्णय नसच्याए प्रतिकार गर्ने चेतावनी पनि उक्त संगठनले दिएको छ।
पछिल्लो समय विभिन्न सरकारी सञ्चारमाध्यम र सञ्चार संस्थाहरुमा भएका नियुक्तिमा कांग्रेसका कार्यकर्तालाई प्राथमिकता दिइएको उक्त संगठनले गुनासो गरेको छ। मात्र नियुक्ति गरेर कांग्रेसीकरण गरिएको पनि समाजवादी संगठनको भनाइ छ ।
‘यस्ता नियुक्ति र अवसर वितरणका सन्दर्भमा समाजवादी प्रेस संगठन नेपाललाई निरन्तर उपेक्षा गरिँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, 'शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिसहितका संस्थामा रिक्त विभिन्न पदमा कांग्रेस कार्यकर्तालाई मात्रै अवसर दिएको छ।'
संगठनले एकलौटी अवसर वितरण र नियुक्तिप्रति खेद व्यक्त गर्दै सरकारले सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल र त्यससँग सम्बद्ध संगठनलाई गरेको अपमानजनक व्यवहार निन्दनीय रहेको जनाएको छ।
‘हामी हाम्रो वैचारिक आबद्धता रहेको दल (एकीकृत समाजवादी) लाई गठबन्धनबारे पुनर्विचार गर्न वा हालसम्मका सरकारी नियुक्ति र अवसरको बाँडफाँटमा भएका विभेदपूर्ण क्रियाकलाप सच्याउन पहल गर्न अनुरोध गर्दछौँ', विज्ञप्तिमा भनिएको छ, 'अन्यथा, हाम्रो संगठन सञ्चार क्षेत्रमा भएका एकलौटी निर्णयको प्रतिकार गर्ने चेतावनी समेत दिन चाहन्छौँ।’

Shares

प्रतिक्रिया