ad ad

राजनीति


केपी ओलीलाई वामदेवले भने : सबै कम्युनिष्टहरुलाई मिलाएर अघि बढ्नुस्

ओलीको सचिवालय भन्छ : खासै नयाँ कुरा केही भएन
केपी ओलीलाई वामदेवले भने : सबै कम्युनिष्टहरुलाई मिलाएर अघि बढ्नुस्

बालकोटमा भेटवार्ताका क्रममा केपी ओली र वामदेव गौतम। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार १६, २०७९ बिहिबार १३:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ। 

नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर आफ्ना पुराना सहयात्री ओलीसँग संवाद गरेका हुन्। 

यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गरेका हुन्। 

बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए। 

उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। 

नेकपा (एकता राष्ट्रिय अभियान)का सचिवालय सदस्य निमकान्त पाण्डेका अनुसार अध्यक्ष ओलीले गौतमको प्रस्तावमाथि थप छलफल गर्नुपर्ने बताएका थिए। 

‘उहाँले एक्लै सबै कुरा निर्णय गर्ने कुरा पनि भएन, वामदेव कमरेडले आफ्ना विषय लामो समय लिएर प्रष्ट राख्नुभयो,’ पाण्डेले भने, ‘प्रष्ट रुपमा सबै विषय राखिएको छ।’

त्यस्तै, एमाले अध्यक्ष ओलीको सचिवालयले आफ्ना कुरा राखेर गौतम फर्किएको बताएको छ। 

सचिवालयका सदस्य रामशरण बजगाईंले खासै नयाँ कुरा नभएको जानकारी नेपालखबरलाई दिएका छन्। 

‘नयाँ कुरा खास केही छैन। गौतमले पार्टी निर्णयको डकुमेन्ट पनि अध्यक्ष ओलीलाई बुझाएर जानु भएको छ', उनले भने। 

पार्टीको एकता विभाजित भएपछि आफू गम्भीर भएर लागिपरेको ब्रिफिङ गौतमले ओलीसँग गरेका थिए। 

यसअघि उनै वामदेवले ओली हुन्जेल एमालेमा नफर्किने घोषणा गरेका थिए। उनलाई एमालेबाट विभाजित एकीकृत समाजवादीले पनि तान्ने कोसिस गरेको थियो।

तर उनी नेकपामा रहँदा देखिएका ओली नेतृत्वको समूह, प्रचण्ड र माधव नेपाल नेतृत्वको समूह कतै नगइ बसेका थिए। 

तर संघीय र प्रदेश तहको निर्वाचन मिति नजिकिँदै गर्दा गौतमले कम्युनिष्ट नामको अर्को पार्टी खोलेर आफूलाई सक्रिय बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .