सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्माले पद छाडेर नैतिकता देखाएको बताएका छन्।
दुई दिनसम्म स्थगित भएर बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा प्रचण्डले अर्थमन्त्रालयबाट शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश पनि फैलिएको जिकिर गरेका छन्।
‘अर्थमन्त्रीजीले कुनै गल्ती नगरेको बताउनु भएको छ। त्यहीकारण उहाँको राजीनामाबाट राजनीतिक चरित्र, नैतिकता र त्यागको सन्देश गएको छ', उनले भने, 'संसदमा पनि कुरा आइसकेपछि शर्माजीले आफ्ना कुरा राखेर पद त्याग्दै नैतिकता देखाउनु भएको छ।’
अध्यक्ष प्रचण्डले शर्माको राजीनामाबाट सत्ता गठबन्धनमाथिको खतरा पनि टरेको बताए। 'यदि शर्माले राजीनामा नदिएको भए यही मुद्दालाई उचालेर गठबन्धन खतरामा पार्ने योजना बनिसकेको थियो', उनले भने।
गठबन्धन संकटमा पार्ने योजनालाई शर्माको राजीनामाले मुख बन्द गरिदिएको पनि उनले बताए। 'गठबन्धन फुटाउने डिजाइन शर्माले त्याग गरेर असफल बनाइदिनु भएको छ। यसलाई लिएर बाँडिएका भ्रमबारे कार्यकर्ता र जनतालाई थाहा दिन सक्नुपर्छ,’ उनले थपे।
Shares
प्रतिक्रिया