राजनीति


महाधिवेशनमा साथ दिएका नेता नै देउवासँग रुष्ट

पार्टी र सरकार दुवैतिर पुरानै शैली दोहोर्‍याएको गुनासो
महाधिवेशनमा साथ दिएका नेता नै देउवासँग रुष्ट

फाइल तस्बिर


केशव सावद
असार ३१, २०७९ शुक्रबार १९:४३, काठमाडौँ

गत मंसिर अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए।

दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई उनले ८७८ मतान्तरले पराजित गरेका थिए। खसेको ४ हजार ६२३ मतमध्ये देउवाले २ हजार ७३३ मत र कोइरालाले १ हजार ८५५ मत ल्याएका थिए। ३५ मत बदर भएको थियो। 

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा कोइरालासँग प्रतिस्पर्धा हुँदा पहिलो चरणमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले देउवालाई सघाएका थिए। 

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल, निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि अप्रत्यक्ष रुपमा देउवालाई नै सघाएका थिए। तर, महाधिवेशनमा सघाएका नेताहरु पछिल्लो समय प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्। 

स्थानीय तह निर्वाचन–२०७९ को समीक्षाका लागि असार २७ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले देउवाको कार्यशैलीको आलोचना गरेका छन्। बैठकमा धारणा राख्ने क्रममा निधि र सिंह उनीविरुद्ध खरो रुपमा उत्रिएका छन्। 

बिहीबारको बैठकमा धारणा राख्ने क्रममा नेता निधिले सभापति देउवालाई अन्य पार्टीसँगको चुनावी एकताभन्दा अगाडि पार्टीभित्रै एकता खोज्न सुझाव दिए। उनले केन्द्रीय कार्यसमिति निर्वाचित भएको ६ महिना बितिसक्दा पनि विभागहरु नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

बैठकमा सहभागी देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार नेता निधिले सभापतिबाट काखापाखा गरिएको आशयका साथ धारणा राखेका थिए। 

‘विमल दाइले आफू पनि महाधिवेशनमा लडेको, दोस्रो चरणमा सघाएको कुरा झिक्नुभयो,’ ती नेताले भने, ‘सभापतिका प्रति उहाँको असन्तुष्टि झल्किन्थ्यो। भाग चाहियो भन्न खोज्नुभएको होला।’  

बैठकबाट बाहिरिने क्रममा नेता निधिले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा कांग्रेसभित्र पनि एकता चाहिएको कुरा सभापति देउवासमक्ष राखेको जानकारी दिए। 

‘हामीले पाँच दलसँग गठबन्धन गरेका छौँ। तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ। पार्टीभित्रको एकतालाई पनि बलियो बनाउनुपर्छ सबैभन्दा पहिले,’ उनले भने, ‘१४ औँ महाधिवेशनमा हामी सभापतिमा उठेका थियौँ। तर हामीले देउवाजीलाई विश्वास गरेर छाडिदियौँ। कांग्रेसमा शक्ति केन्द्र र उपकेन्द्रहरु धेरै छन्। तिनलाई एकताबद्ध बनाएर लैजान सके चुनाव जित्न सकिन्छ।’

निधिले महाधिवेशन भएको ६ महिनाभन्दा बढी नाघिसक्दा पनि विभाग र भ्रातृ संगठन बन्न नसकेको जनाउँदै असन्तुष्टि पोखे। देउवाले ती सबै काम गरे आफू सहयोग गर्न तयार रहेको पनि उनले बताए। 

१४ औँ महाधिवेशनमा दोस्रो चरणमा समर्थन गरेका अर्का नेता सिंह पनि सभापति देउवाको कार्यशैलीबाट सन्तुष्ट छैनन्। सभापति देउवाले पार्टीलाई पुरानै शैलीमा अगाडि बढाएको उनको बुझाइ छ। आफू निकटस्थहरुसँग पार्टी विधिअनुसार नचलेको गुनासो गर्दै आएका सिंहले बैठकमा असन्तुष्टि पोखेका छन्। 

बुधबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले सरकारका कारण कांग्रेसलाई आगामी निर्वाचनमा जाँदा गाह्रो पर्ने बताए। देउवा नेतृत्वको सरकारले एकपछि अर्काे गल्ती गरेको उनको आरोप थियो। 

‘सरकार गतिशील भएन। यसरी सरकार चलाएर भएन। एकपछि अर्काे गल्ती भइरहेको छ सरकारबाट,’ नेता सिंहले बैठकमा भनेका थिए, ‘यसले निर्वाचनमा जाँदा गाह्रो हुन्छ। स्थानीय तह निर्वाचनमा राम्रो भएन।’

सरकार गठन भएको एक वर्ष भइसक्दा पनि कुनै देखिने र सुनिने काम नगरेको उनको भनाइ थियो। 

‘सरकारले देखिने र सुनिने कुनै कार्यक्रम ल्याएन। मूल्यवृद्धि र जनजीविकाका अन्य सवालमा सरकारले ध्यानै दिएन,’ बैठकमा सिंहले भने, ‘चुनाव आउन लागिसक्यो। के भनेर जनतामा जाने हो?’

पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्ने देउवाको प्रतिवद्धतापछि दोस्रो चरणमा उनले देउवालाई सघाएका थिए।

१४ औँ महाधिवेशनमा ‘मौन’ बसेर देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सघाएका वरिष्ठ नेता पौडेल पनि सन्तुष्ट देखिँदैनन्। गत मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रधानमन्त्री देउवालाई ओलीपथमा नलाग्न सचेत गराएका थिए। नेता पौडेलले प्रधानमन्त्री देउवालाई संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन पनि सुझाव दिएका थिए। 

‘महँगी बढेको छ, भ्रष्टाचार जताततै छताछुल्ल भइरहेको छ, हामी आफैँले बनाएको अख्तियारले काम गर्न सकेको छैन,’ पौडेलले बैठक राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘अख्तियारलाई प्रभावकारी बनाउनुस्। सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धानलाई स्वायत्त बनाउनुस्। हिजो ओलीले जे गरे, त्यो बाटो राम्रो छैन।’ 

असार १६ गते ६४ औँ संसद् दिवसमा पनि उनले देउवा पार्टीको विधानअनुसार नचलेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए।

‘हाम्रो प्रधानमन्त्रीजीलाई समयको निरन्तरता कति छ भन्ने त काम कारबाहीबाट थाहा हुन्छ नि। समय पुगेन भन्ने, फेरि गर्नुपर्ने कामहरु पेन्डिङमा राखि छोड्ने?’ पौडेलले भनेका थिए, ‘समय पुगेन भनिराख्या छ, दुगुरी राख्या छ छिटोछिटो। अनि ६ महिनामा गर्नुपर्ने काम जम्मै अलपत्र।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औँ महाधिवेशनमा सुरुदेखि नै प्रधानमन्त्री देउवालाई साथ दिएका थिए। जारी केन्द्रीय कार्यसमिति बैठकमा पनि उनले देउवालाई बलियो साथ दिएका छन्। 

इतर समूहका नेताहरुले चुनावी तालमेलको विपक्षमा धारणा राखिरहेका बेला सिटौलाले आसन्न निर्वाचनमा वाम एकता भए पार्टीको स्थिति के होला भनेर प्रश्न उठाएका छन्। 

बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै नेता सिटौलाले गठबन्धन परिस्थितिले निर्माण हुने भन्दै वाम एकता भए कांग्रेसलाई अप्ठ्यारो पर्नसक्ने जिकिर गरे। 

‘स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो, भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ?’ उनले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने। 

ती नेताका अनुसार सिटौलाले अहिले नै चुनावी गठबन्धन गर्ने वा नगर्नेबारे टुंगो लगाउन आवश्यक नभएको पनि धारणा राखेका थिए। 

‘गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यकता छैन,’ उनको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘देश जता जान्छ, त्यतै जाने हो। गठबन्धन गर्ने–नगर्ने विषय परिस्थितिले भन्ने कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .