भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएकी छन्।
नयाँदिल्लीस्थित नेपाली दूतावासले बुधबार आयोजना गरेको तीज विशेष कार्यक्रममा प्रमुख अतिथि रहेकी लेखीले त्यस्तो बताएकी हुन्।
तर उनले नेपाल, चीन वा पाकिस्तान कुन मुलुकसँगको सीमा समस्याबारे बताउन खोजेकी हुन्, स्पष्ट पारिनन्। यी तिनै मुलुकसँग भारतको लामो समयदेखि सीमा विवाद छ। तर नेपाली दूतावास पुगेर उनले त्यसो भन्नुले नेपालसँगकै सीमाबारे भनेको अनुमान गर्न सकिन्छ।
नेपालको कालापानी क्षेत्रमा दशकौंदेखि भारतीय सेना बसेका छन्। सीमा समस्या वार्ताका माध्यमबाट हल गर्न नेपालले ताकेता गरिरहेको भए पनि भारतले त्यसको सुनुवाइ गरिरहेको छैन।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले २ वर्षमा चारपटक सीमा वार्ताका लागि भारतलाई पत्र लेखिसकेको छ तर अहिलेसम्म जवाफ प्राप्त भएको छैन।
‘विद्यमान सीमा समस्या हल गर्न भारत अझै तयार देखिँदैन’, एक अधिकारीले नेपालखबरसँग भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैतमा भएको भारत भ्रमणमा सीमा समस्याको विषय भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष उठाएका थिए। तर मोदीले सीमा समस्या समाधानमा खासै चासो दिएनन्। जसका कारण भ्रमणमा नेपाल र भारतको संयुक्त वक्तव्यसमेत जारी हुन सकेन।
सन् २०१९ नोभेम्बरमा कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको कडा विरोध गरेको थियो। भारतले नक्सा अद्यावधिक गरेको ६ महिनापछि नेपालले पनि आफ्नो नयाँ राजनीतिक तथा प्रसाशनिक नक्सा जारी गरेर कालापानी क्षेत्रलाई समेटेको छ।
भारतले नेपाली भूमि लिपुलेक भएर चीनको मानसरोवर जाने राजमार्ग दुई वर्षअघि उद्घाटन गरिसकेको छ।
Shares

प्रतिक्रिया