आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि केही सातादेखि गुल्मीमा सक्रिय भइरहेकी नेतृ रामकुमारी झाँक्रीले धक्का व्यहोर्नु परेको छ।
गुल्मी क्षेत्र नम्बर २ बाट उठ्ने गरी उनी अहिले चुनावी तयारीमा लागिरहेकी छन्। स्थानीय भेटघाटदेखि कार्यकर्तासँगको छलफलमा लागिरहेका बेला रामकुमारीलाई समस्या आइलागेको छ।
निर्वाचनको मुखमा समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारी एमालेमै फर्किएका छन्। उनी समाजवादीका केन्द्रीय सदस्य पनि थिए।
उनीसहित गुल्मीमा सक्रिय एकीकृत समाजवादीका अर्का केन्द्रीय गणेश खनाल पनि एमालेमै फर्किएका छन्। एमाले फर्किएका केन्द्रीय सदस्य खनाल समाजवादीका गुल्मी जिल्ला इन्चार्ज हुन्।
उनीहरुलाई गुल्मीको तम्घासमा सोमबार भएको एक कार्यक्रमबीच एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले पार्टीमा स्वागत गरेका छन्।
उनीहरु दुईजनासँगै समाजवादीका प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघका केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, जिल्ला सदस्य एवम् मुसिकोटका अध्यक्ष मदनदिउ घिमिरे एमालेमै फर्किएका छन्।
एमालेमै फर्किनेहरुमा समाजवादीनिकट अनेरास्ववियूका जिल्ला अध्यक्ष नीलकण्ठ पाण्डे, युवा संघ जिल्ला अध्यक्ष रामुजंग कँडेल र समाजवादीका छत्रकोट पालिका अध्यक्ष यमबहादुर खत्री पनि रहेका छन्।
विष्ट र ज्ञवालीले स्वागत गरेपछि भण्डारीले यसअघि गरेका कमजोरीले पार्टीमा भएको गम्भीर क्षतिप्रति आत्मआलोचनासमेत गरेका छन्।
उनले एमालेबाहेक अरु कुनै दलले नेपाली कम्युनिष्ट आन्दोलन अघि बढाउन नसक्ने पनि दाबी गरे। अब एमालेले दिने कुनै पनि जिम्मेवारी लिएर निर्वाचनमा जिताउन सक्रिय हुने पनि उनले बताए।
यसअघि गुल्मीमा एमाले र समाजवादीका स्थानीय नेतृत्वबीच वार्ता चलिरहेको थियो। गुल्मीमा स्थानीयस्तरमा एकीकृत समाजवादी र एमालेबीचको वार्ताले एकीकरणको अवस्था ल्याएको हो।
एमालेका गुल्मी अध्यक्ष बालसिंह काउछाले गुल्मीमा समाजवादीका नेताहरुलाई भित्र्याउने गरी वार्ता भइरहेको यसअघि नै खुलाएका थिए।
यस्तोमा समाजवादीको सिंगो टिम भित्र्याउन सफल भएपछि एमाले पंक्ति उत्साहित भएको छ।
गत वैशाखमा भएको स्थानीय चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा समाजवादी वडाध्यक्षहरुको कुल मत ६५८ आएको थियो।
कांग्रेसको २९ हजार ८२१, माओवादी केन्द्रको १ हजार ८४१ आएको थियो। यहाँ एमालेका वडाध्यक्षहरुले कुल ३१ हजार २५३ मत ल्याएका थिए।

Shares

प्रतिक्रिया