राजनीति


कांग्रेस लचक भएपछि सहमतिनजिक गठबन्धन कार्यदल

भागवबण्डा मिलाएर मंगलबार बाँडफाँट टुंग्याइने
कांग्रेस लचक भएपछि सहमतिनजिक गठबन्धन कार्यदल

नेपालखबर
भदौ २०, २०७९ सोमबार १८:४०, काठमाडौँ

पाँच दलीय गठबन्धनले बनाएको कार्यदलले मंगलबार (२१ भदौ) मा सिट संख्या बाँडफाँटबारे निर्णय गर्ने भएको छ।

सोमबार दिउँसो बसेको कार्यदलको बैठकमा यसअघि दाबी गरेको ९० सिटबाट नेपाली कांग्रेसले घट्न तयार भएपछि मंगलबार बाँडफाँट टुंगिने एक सदस्यले नेपालखबरलाई बताए।

कांग्रेसले सोमबारको बैठकमा आफ्नो दाबीबाट घटन् तयार रहेको बताए पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुसँग बसेर अन्तिम निर्णय गर्ने बताएको थियो। त्यसपछि मात्रै ठोस प्रस्ताव ल्याउने नेताहरुले बताएका छन्। 

‘कांग्रेसकै कारण सहमति रोकिएको थियो, उहाँहरुले घटाउँछौँ भनेर आजको बैठकमा भन्नुभयो,’ ती सदस्यले नेपालखबरसँग भने, ‘हामी सभापति शेरबहादुर देउवा लगायत पदाधिकारीसँग बसेर ठोस निर्णयसहित आउँछौँ भन्नुभएको छ। अब भोलि कार्यदलले टुंगो लगाएर शीर्ष नेतालाई बुझाउँछौँ।’

मंगलबार साँझ बस्ने कार्यदल बैठकले प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका १ सय ६५ स्थानकै सिट बाँडफाँटबारे निर्णय गर्ने सम्भावना छ।

सोमबारको (२० भदौ ) कार्यदल बैठकमा प्रतिनिधि सभाका सबै निर्वाचन क्षेत्रको अवस्था विश्लेषण भएको थियो।

अघिल्लो (२०७४) को प्रतिनिधि सभालाई आधार मान्ने कि ३० बैशाखको स्थानीय तहको निर्वाचन परिणाम आधार मान्ने भन्ने विषयमा निर्णय भइसकेको छैन।

‘कहिलेको मतलाई आधार मान्ने भन्ने छलफल हुँदा राजनीतिक निर्णय गर्नुपर्छ भन्ने भयो, त्यही आधारमा भोलिको बैठकमा विशेषगरी चार दलले आ–आफ्ना दाबीबाट लचक भएर निर्णय गरौं भन्नुभएको छ,’ अर्का एक सदस्यले भने। 

सोमबारको बैठकको सुरुवात नै पहिला दाबी गरेको विषयबाट भएको थियो।

‘तपाईंहरु दाबी मात्र गर्ने कि सहमति पनि गर्ने? पुरानै दाबी नछोड्ने हो भने गठबन्धनमा सहमति जुट्दैन,’ बैठकमा प्रश्न उठेपछि सबै दाबी छोडेर गठबन्धन जोगाउन पर्छ भन्नेमा एक मत रह्यौँ,’ ती सदस्यले थपे, ‘आफ्नो दाबीलाई न्यारो डाउन गर्दै भोलिको बैठकबाट टुंगो लगाउने सहमति गरेर आज बैठक स्थगित गर्यौं‍।’

कांग्रेसले ९० बाट ८५ सम्म झर्न तयार छ। तर, चार दलले कांग्रेसलाई ८३ सिटभन्दा बढी दाबी नगर्न सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .