ad ad

राजनीति


एमाले वैशाखीको साहारामा चल्ने पार्टी होइन, गठबन्धनविरुद्ध एक्लै काफी छ : ओली

एमाले वैशाखीको साहारामा चल्ने पार्टी होइन, गठबन्धनविरुद्ध एक्लै काफी छ : ओली

नेपालखबर
भदौ २७, २०७९ सोमबार २२:१२, जनकपुरधाम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्।

एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन्।

‘एमाले कसैको सहारामा चल्ने पार्टी होइन’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ‘एमाले एक्लै गठबन्धनविरुद्ध काफी छ, कसैको सहारा चाहिँदैन।’ 

उनले कुनै दललाई तालमेलको नाममा साहारा दिन सकिने बताए।

‘लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन’, ओलीले भने, ‘कुनै कुनै दलसँग तालमेल हुन सक्छ। कुनै कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)संग एमालेले गठबन्धन गर्न लागेको चर्चाका बिच पूर्व प्रधानमन्त्री ओलीले लोसपातर्फ ईंगित गर्दै तालमेल हुन सक्ने स्पष्ट गरे। लोकतन्त्रमा कुनै कुनै दललाई रेस्क्यु पनि गर्न सकिने उनको भनाई थियो।

गठबन्धनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेसँग एक्लै भिड्न गाह्रो रहेको बुझेर नै कांग्रेस माओवादीको सहारामा गठबन्धन बनाएर भिडिरहेको बताए। 

‘गठबन्धनका नेताहरुलाई मंसिर ४ गतेपछिको परिणाम थाहा छ’ उनले भने, ‘त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अनुहारमा अहिले मुस्कान छैन।’

सेटिङवाला राजनीति गर्ने गठबन्धनका नेताहरुलाई नेपाली जनताले अबको निर्वाचनमा विश्वास नगर्ने उनले दाबी गरे। 

उनले भने, ‘गठबन्धनका दलमा लागेकाहरू फोहोरी राजनीतिमा लागेका छन्, त्यस्ता फोहोरी राजनीति गर्नेहरुलाई नेपाली जनता कदापी जिताएर पठाउँदैनन्। सुनको सिक्का फोहोरमा झर्यो भने त्यो सिक्का फेरि जानकी मन्दिरमा अर्पण गर्न मिल्दैन, गठबन्धनमा लागेका नेताहरु फोहोरमा झरिसकेका छन्, यिनीहरुलाई भोट दिनु हुँदैन।’

नागरिकता विधेयकको प्रसंगमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भिर रहेको दाबी गरे। तर गठबन्धनमा आवद्ध दलहरुका नेता कार्यकर्ताहरु एमालेले नागरिकता विधेयक पारित गर्न नदिएको भ्रम श्रृजना गरिरहेको बताए।

उनले भने ‘आफू २०५१ सालमा गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर नागरिकता समस्या समाधान गर्ने प्रयास गरेँ, आफू प्रधानमन्त्री रहँदा समितिको सभापतिले रोकेको रोक्यै गरे, संविधान बमोजिम अध्यादेशबाट कानून ल्याएँ तर गठबन्धनकै नेताका कारण त्यो पनि रोकियो।’  

तर अहिले विधेयक ल्याएर संसदमा छलफल नै नगर्ने, राष्ट्रपतिले उठाएका कुराहरु नमान्ने यस्तो हैकमवादी प्रवृति लोकतन्त्रमा चल्दैन भने। 

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव ल्याउन ओलीले आग्रह गरे। उनले भने, ‘जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने प्रस्ताव आए एमालेले सो प्रस्तावलाई ताली बजाएर स्वागत गर्छ।’ 

‘तर एमालेले नागरिकता विधेयकको विरोधमा रहेको गठबन्धनका नेताहरुलाई जनता अल्मलाउनु छ त्यसैले यही अडकिएका छन्’ उनले भने। 

नेकपा एमाले मधेशविरोधी पार्टी रहेको प्रचार गर्ने योजना ती नेताहरुको रहेको आरोप लगाउँदै ओलीले एमाले श्रमिक, सुकुम्वासी र भुमिहिन तथा मधेशीहरुकै पार्टी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .