नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्।
अध्यक्ष नेपालले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।
बुधवार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताए। अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए।
उनले भने, ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं। नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाई थियो।
Shares

प्रतिक्रिया