नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरु टुंगो लगाउने भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार टुंग्याउन कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उम्मेदवारको अन्तिम टुंगो लगाउन कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए।
उनले अहिले नामावली ‘सिलिङ’ भइरहेको पनि बताए। तर, कार्यसम्पादन समितिको बैठकको समय भने तय भइनसकेको प्रवक्ता महतको भनाइ छ।
‘आज सिलिङ भइरहेको छ। भोलि (सोमबार) साढे ८ बजे यसलाई टुंगो लगाउँछौं,’ उनले भने, ‘अन्तिम नामलाई भोलि कार्यसम्पादन समिति बैठक बसेर पास गर्छौं।’
प्रवक्ता महतले कार्यसम्पादन समितिबाट अन्तिम नामावली टुंगो लगाएर सोमबार निर्वाचन आयोगमा बन्दसूची बुझाउने पनि जानकारी दिए।
समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिन प्रधानमन्त्रीको सरकारी निवासमा केन्द्रीय संसदीय समिति बैठक बसेको थियो।
केन्द्रीय संसदीय समितिको बैठकमा सात प्रदेशका सभापति र केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारका नामहरू ‘सिलिङ’ गरिरहेका प्रवक्ता महतले जानकारी दिए।
Shares
प्रतिक्रिया