राजनीति


कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गर्दै राजदूत पौडेलले भने : नेपाली श्रमिकका समस्या समाधान गर्छु

कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गर्दै राजदूत पौडेलले भने : नेपाली श्रमिकका समस्या समाधान गर्छु

नेपालखबर
असोज ८, २०७९ शनिबार १७:३५, काठमाडौँ

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन्। मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन्। दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो। 

दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए। तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ।

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए।

मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए। सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन्।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उहाँले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने बताए।

नेपाल–मलेसियाबीच जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिने उनले बताए। 

पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .