राजनीति


केपी ओलीविरुद्ध भीम रावलको ‘बमबार्ड’, यस्ता छन् २० बुँदे प्रश्न

एमालेमै बसेका रावल सत्ता गठबन्धनप्रति नरम
केपी ओलीविरुद्ध भीम रावलको ‘बमबार्ड’, यस्ता छन् २० बुँदे प्रश्न

फाइल तस्बिर


सागर न्यौपाने
असोज २८, २०७९ शुक्रबार १६:३, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई २० बुँदे आरोप लगाउँदै संघीन प्रश्न सोधे।

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नाम सिफारिस भए पनि केन्द्रबाट काटिएपछि असन्तुष्ट रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीको कार्यशैलीप्रति कटाक्ष गरेका हुन्।

तत्कालीन नेकपा हुँदाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ओलीविरुद्ध पेश गरेको १९ बुँदे दस्तावेजकै शैलीमा रावलले अनेक आरोप लगाएका हुन्। 

प्रचण्डले त्यसबेला ओलीविरुद्ध पेश गरिएको दस्तावेजलाई हेडक्वार्टरमा 'बमबार्ड' भनेका थिए। ओलीविरुद्ध रावलका यी आरो पनि प्रचण्डकै भाषामा 'बमबार्ड' जस्तै थिए। 

रावलले ओलीमाथि अनेक गम्भीर आरोप लगाइरहँदा सत्ता गठबन्धनप्रति नरम देखिएका छन्। उनले एमालेमै बस्ने निर्णय लिएर पनि अध्यक्ष ओलीप्रति आक्रामक बने। 

मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा उनले आफ्नो धारणा भन्दै जारी गरेको १५ पृष्ठ लामो प्रेस नोटमा १९ आरोपसहितका प्रश्न सोधिएका छन्। अछाम १ मा ओलीले उनको टिकट खोसेर माओवादीबाट आएका झपट बोहोरालाई दिएको छ। 

रावलले ओलीमाथि अनेक आरोप लगाउँदै तिनको उत्तरको अपेक्षा पनि उनले राखेका छन्।

रावलले सोधेका प्रश्नहरु नेकपाकालीन समयमा अध्यक्ष प्रचण्डले लगाएको १९ बुँदे आरोपभन्दा कडा रहेको चर्चा हुन थालेको छ। उनले आफूलाई टिकट नदिइने कारण भनेर ३ प्रश्न ओलीसँग सोधेका छन्।

यस्तै पार्टी नीति र नीति अनसरणको प्रसङ्ग भनेर अर्को खण्डमा ओलीविरुद्ध असन्तुष्टि पोखेका छन्। पार्टी एकता र विभाजनको प्रसङ्ग भनेर उनले थप प्रश्न गर्दै त्यसको दोष पनि ओलीमाथि थोपरेका छन्। 

ओलीमाथि रावलका प्रश्न 
१. २०७७ कात्तिक ७ गते मध्यराति किन रअ प्रमुख सामन्त गोयलसँग बालुवाटारमा गुप्त भेट किन गरेको? 

२. सरकारमा हुँदा आधा समय सरकारी निवास बालुवाटार र अस्पताल बस्नेलाई किन टिकट दिनु? 

३. मनपरी गर्ने हो भने एमालेलाई मार्क्सवाद–लेलिनवादी किन भन्ने?

४. स्थायी कमिटीलाई छलेर किन २०७५ जेठ ३ गते माओवादी–एमालेबीच आधा आधा प्रधानमन्त्री हुने गोप्य सम्झौता गरेको?

५. एमाले पार्टीविरुद्ध विषबमन गर्ने लोकतान्त्रिक समाजवादी पार्टीका मानिसहरुलाई किन मन्त्री बनाएको? 

६. पार्टी एकताको लागि काठमाडौंमा गरिएको घोषणा विपरीत किन केन्द्रीय कमिटि बैठक नबोलाएको? 

७. विदेशी कम्पनीसँग मिलेमतो गरी सवारी साधनहरुमा इम्बोस्ड नम्बर राख्ने व्यवस्था किन गरेको? किन नहटाएको?

८. पश्चिम सेतीबाट किन चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेको? 

९. २०७५ साल मंसिरमा एमालेका निर्वाचित प्रतिनिधिलाई होली वाइन पान गराउने कार्यक्रम किन राखेको? मैले विरोध गर्दा किन प्रहारको निशान बनाइएको? 

१०. एमसीसी सम्झौता किन प्रतिनिधि सभामा पेश गरेको? अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र हितविरोधी सम्झौता किन गरेको? प्रतिनिधि सभामा छलफल गर्न किन नदिएको?

११. २०७५ पुसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा विदेशी सैन्य अड्डा रहनेगरी अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सहभागी हुने निर्णय किन गरेको? मैले माग्दा किन कागजात छैन भनेर किन नदिएको?

१२. भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण रोक्नुको कारण के हो? भारतीय दूतावासको दबाब?

१३. पार्टीमा छलफल नगरी किन दल विभाजन अध्यादेश ल्याएको? संसद विघटन गर्दिनँ भनेर २०७७ पुस ३ गते गरेको स्थायी कमिटिको बैठकको निर्णय किन उल्लंघन गरेको? 

१४. देश टुक्र्याउनुपर्छ भन्ने, नेपालको संविधान दिवसलाई ‘कालो दिवस’ मान्ने, भारतको नाकाबन्दीको समर्थन गर्ने सीके राउतलाई राजकीय सम्मान दिएर दुई देशबीच जस्तो भाषा प्रयोग गरी किन सम्झौता गरेको? 

१५. पार्टीमा छलफल नगरी महन्थ ठाकुरको पार्टीसँग २०७६ मा किन साँठगाँठ गरेको?

१६. २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक किन प्रतिनिधि सभा विघटन गरेको?

१७. पार्टीमा नाफाखोर, विचौलिया, अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादका पृष्ठपोषकलाई किन महत्वपूर्ण जिम्मेवारी दिएको? 

१८. २०७७ फागुन २३ मा नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलापछि १५ दिनभित्र अदालत नगएर २०७७ फागुन २८ गते किन आफूपक्षीय नेता राख्दै केन्द्रीय कमिटी भंग गरेको?

१९. पार्टीले प्रतिक्रियावादी भनेका, नेपाली समाजले कु-पात्र ठानेका व्यक्तिहरु कुन अनुशासन, विधि र पद्धतिको रक्षक हुन् र पार्टी मिल्न गएको?

२०. २०७८ असारमा महन्थ गुटका ११ जनालाई किन मन्त्री बनाएको?

यस्तो छ १६ पेजको दस्तावेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .