राजनीति


सत्ता गठबन्धनमा अझै मिलेन सिट बाँडफाँट, यी क्षेत्रमा छ दोहोरो दाबी

सत्ता गठबन्धनमा अझै मिलेन सिट बाँडफाँट, यी क्षेत्रमा छ दोहोरो दाबी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १५:३६, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र सत्ता साझेदार अन्य चार दलहरुका चुनावी तालमेल गरेर निर्वाचनमा जाँदै छन्। 

उनीहरुले भागबण्डा गरेर प्रतिनिधिसभा र प्रदेशसभाका सिटहरु बाँडफाँट पनि गरिसकेका छन्।

सत्ता गठबन्धन दलहरुका बीचमा प्रदेशसभाका ९ क्षेत्रमा मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति जुटे पनि १० क्षेत्रमा अझै विवाद देखिएको छ। यद्यपि, ती क्षेत्रमा देखिएको विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउने जानकारी शीर्ष नेताले शुक्रबार विज्ञप्तिमार्फत दिएका छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सभापति र अध्यक्षहरुद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा देखिएको विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिवद्धता व्यक्त गर्दछौँ।’

यी हुन विवादित क्षेत्र
सत्ता गठबन्धनका बीचमा बाजुरा ‘क’, सुर्खेत-२ ‘क’ र ‘ख’, हुम्ला ‘क’, बाँके-२ ‘क’ र ‘ख’, कपिलवस्तु-१ ‘ख’, स्याङ्जा-२ ‘क’, महोत्तरी-२ ‘क’ र सिरहा-३ ‘ख’ मा विवाद छ। यी क्षेत्रहरुमा सत्ता गठबन्धनमै रहेका दलहरुबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ। 

बाजुरा ‘क’ मा माओवादी केन्द्रबाट कर्णबहादुर विश्वकर्मा र एकीकृत समाजवादीबाट नरेश शाहीको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी परेपछि सहमति कार्यान्वयन हुन नसकेको हो।

यस्तै सुर्खेत-२ ‘क’ कालीप्रसाद शाक्य (कांग्रेस) र शिवप्रसाद उपाध्याय (एकीकृत समाजवादी) तथा ‘ख’ मा विन्दुमान विष्ट (माओवादी केन्द्र) र मोहन बडुवाल (एकीकृत समाजवादीको उम्मेदवारी परेको छ। 

हुम्ला ‘क’ मा माओवादी केन्द्रका रनसिंह परियार र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले उम्मेदवारी दिँदा सत्ता गठबन्धनबीच विवाद सिर्जना भएको हो। 

बाँके-२ ‘क’ मा कांग्रेसका तर्फबट राजकुमार बर्मा र एकीकृत समाजवादीका तर्फबाट समसुद्दिन सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन्। ‘ख’ मा कांग्रेसका सुरेन्द्र हमाल र माओवादीका अक्कलबहादुर बमको उम्मेदवारी परेको छ। 

यस्तै कपिलवस्तु-१ ‘ख’ मा कांग्रेसका सहसराम यादव र एकीकृत समाजवादीका फजलुर खान, स्याङ्जा-२ ‘क’ मा कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र  भट्टराईको उम्मेदवारी परेपछि सत्ता गठबन्धनलाई विवाद मिलाउन सकस भएको छ। 

महोत्तरी-२ ‘क’ मा एकीकृत समाजवादीकी मञ्जु यादव र लोसपाका जयनुल राइन तथा सिरहा-३ ‘ख’ मा कांग्रेसका सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीका प्रमोद यादवको उम्मेदवारीले सत्ता गठबन्धनमा विवाद उत्पन्न गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .