ad ad

राजनीति


यी निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारबीच नै हुँदैछ प्रतिस्पर्धा

यी निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारबीच नै हुँदैछ प्रतिस्पर्धा

केशव सावद
कात्तिक ११, २०७९ शुक्रबार १५:२८, काठमाडौँ

पाँच दलीय सत्ता गठबन्धन दलहरुबीच पनि आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा केही क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ। 

खासगरी दुई वर्षसम्म गठबन्धनमा रहेको जनता समाजवादीले छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि यस्तो अवस्थामा उत्पन्न भएको छ।

जसपाले छाडेपछि भित्रिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि अटाएर लैजाने क्रममा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो। 

सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र भागबण्डा भए ११ स्थमानमा प्रतिस्पर्धा हुने भएको हो। 

जसअनुसार सत्ता गठबन्धनकै दलहरुबाट दुईजनाको उम्मेदवारी परेपछि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ९ स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णयमा उनीहरु पुगेका हुन्। 

सत्तारुढ दलका शीर्ष नेताहरुले शुक्रबार सार्वजनिक गरेको सूचीमा पनि उक्त कुरा उल्लेख गरिएको छ।

प्रतिस्पर्धा हुने प्रतिनिधिसभा क्षेत्र 
गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० पनि प्रतिस्पर्धाको समझदारी गरेका छन्। नेपाली कांग्रेसका राजन केसीसँग ठाउँमा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले यो ठाउँमा प्रतिस्पर्धा गर्ने भएकी छन्।

माओवादीले दाबी गरेको यो ठाउँमा यसअघि पुष्पकमल दाहाल प्रचण्डलाई हराएका राजन केसीलाई पछि हटाउन कांग्रेस मानेको थिएन।

अञ्जनाले माओवादी अध्यक्ष प्रचण्डकै सहमतिमा यो क्षेत्रमा उम्मेदवारी दर्ता गराएकी थिइन्। प्रचण्डले दिएको टिकट लिएरै मनोनयन गरेकी उनको उम्मेदवारी कायम भएपछि यहाँ पनि सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी जसपाले सत्ता गठबन्धन छाडेपछि भित्रिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका एकजना अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि महतोलाई समस्या भएको हो।

जसपाको स्थानमा लोसपा बालुटार छिरे पनि धनुषाबाट सर्लाही फर्किएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो। 

प्रदेशसभातर्फ 
सत्तारुढ दलका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने क्षेत्रहरुमा मा कञ्चनपुर–२ ‘ख’, कञ्चनपुर–३ ‘क’, काठमाडौं–३ ‘ख’, काठमाडौं–५ ‘ख’, काठमाडौं–६ ‘ख’, काठमाडौं–१० ‘क’, पर्सा–३ ‘ख’, बारा–१ ‘ख’ र सर्लाही–१ ‘क’ रहेका छन्। 

यी क्षेत्रमा सत्ता गठबन्धन दलहरुले मित्रवत प्रतिष्पर्धा गर्ने लिखित सहमति गरेर सबैजना उम्मेदवारको सूची नै सार्वनजिक गरेका हुन्। 

शुक्रबार सार्वजनिक सत्तारुढ दलका साझा उम्मेदवारहरुको सूचीअनुसार कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख छ।

त्यसैगरी कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ। 

यता काठमाडौं–३ ‘ख’ मा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल, काठमाडौं–५ ‘ख’ माकांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिष्पर्धा गराउने शीर्ष नेताहरुबीच सहमति बनेको छ।

यस्तै काठमाडौं–६ ‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाडौं–१० ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलिप महर्जनसँग मित्रवत् प्रतिष्पर्धा गर्नुपर्ने भएको छ। 

साझा उम्मेदवारहरुको सूची अनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाहा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपेन्द्र महतोबीच मित्रवत् प्रतिष्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .