ad ad

राजनीति


मधेशका २१ सिटमा सत्ता गठबन्धन, ७ वटामा एमाले–जसपा जित नजिक

मधेशका २१ सिटमा सत्ता गठबन्धन, ७ वटामा एमाले–जसपा जित नजिक

केशव सावद
कात्तिक ३०, २०७९ बुधबार ८:२४, काठमाडौँ

मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभाका ३२ निर्वाचन क्षेत्र छन्। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठै जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र छन्।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दल र मधेशमा प्रभाव रहेको लोकतान्त्रिक समाजवादी पार्टीहरुले चुनावी तालमेल गरेका छन्। यस्तै मधेशमा प्रभाव रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेले चुनावी तालमेल गरेको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा मधेश प्रदेशमा सत्ता गठबन्धन बलियो देखिएको छ। उक्त मत परिणामअनुसार मत खसेको अवस्थामा सत्ता गठबन्धन मधेशका ३२ मध्ये २५ स्थान (मित्रवत् प्रतिस्पर्धा गरेकासहित) मा र एमाले–जसपा गठबन्धन ७ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित नजिक पुगेका छन्।  

जसअनुसार सत्ता गठबन्धन सप्तरी–२, ३ र ४, सिरहा–२ र ४, धनुषा (२ बाहेक), महोत्तरी, सर्लाही (२ बाहेक), रौतहटका सबै र बाराका १, ४ तथा पर्साका ३ र ४ नम्बर क्षेत्रमा ‘ग्रिन जोन’ मा अर्थात् जित हात पार्ने अवस्थामा छ। स्थानीय तह निर्वाचनको मत परिणाम र मतदाताबीच पछिल्लो चुनावी महोल हेर्दा सप्तरी–१, सिरहा–१ र ३, बारा–२ र ३, तथा पर्सा १ र २ मा एमाले नेतृत्वको गठबन्धनले जित हात पर्ने देखिन्छ।

सत्ता गठबन्धनका तर्फबाट मधेशमा नेपाली कांग्रेसले १४, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ निर्वाचन क्षेत्रमा साझा उम्मेदवार उठाएका छन्। 

उनीहरुले दुई निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने र एक क्षेत्रमा नेकपा एमाले परित्याग गरेका प्रभु साहलाई सघाउने समझदारी गरेका छन्।

कांग्रेसले मधेश प्रदेशका सप्तरी–१ मा रामदेव साह, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ मा तेजुलाल चौधरी, सिरहा–१ मा पद्मनारायण चौधरी, सिरहा–२ मा चित्रलेखा यादव, धनुषा–४ मा महेन्द्र यादव, महोत्तरी–४ मा महेन्द्रकुरमार रायलाई उम्मेदवार बनाएको छ। 

सर्लाही–४ मा नागेन्द्र राय यादव, रौतहट–२ मा मोहम्मद फिरदोस आलम, रौतहट–४ मा देवप्रसाद तिमल्सिना, बारा–१ मा उमाकान्त चौधरी, पर्सा–२ मा अजयकुमार चौरसिया, पर्सा–३ मा सुरेन्द्रप्रसाद चौधरी, पर्सा–४ मा रमेश रिजाल कांग्रेसका उम्मेदवार हुन्। 

माओवादी केन्द्रले सिरहा–३ मा विश्वनाथ साह, धनुषा–१ मा मातृकाप्रसाद यादव, महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, सर्लाही–३ मा नरेन्द्र साह कलवार र बारा–२ मा शिवचन्द्रप्रसाद कुशवाहलाई उम्मेदवार उठाएको छ। 

लोसपाका तर्फबाट सप्तरी–२ मा जयप्रकाश ठाकुर, धनुषा–३ मा अनिलकुमार झा, महोत्तरी–२ मा शरतसिंह भण्डारी, महोत्तरी–३ मा महन्थ ठाकुर, सर्लाही–१ मा रामप्रकाश चौधरी, बारा–३ मा लालबाबु सिंह, पर्सा–१ मा लक्ष्मणलाल कर्ण उम्मेदवार छन्। 

एकीकृत समाजवादीका तर्फबाट सिरहा–४ मा धर्मनाथ साह, रौतहट–१ मा माधवकुमार नेपाल र बारा–४ मा कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार छन्। सत्ता गठबन्धनले धनुषा–२ र सर्लाही–२ मा मित्रवत् प्रतिस्पर्धा गर्न गइरहेका छन्।

धनुषा–२ मा एकीकृत समाजवादीका रामचन्द्र झा र कांग्रेसका रामकृष्ण यादव तथा सर्लाही–२ मा लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रका महिन्द्र राय यादव गठबन्धनबीच भएको सहमतिअनुसार मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न लागेका हुन्। गठबन्धनमा रहेका सबै दलहरुले रौतहट–३ मा भने एमाले परित्याग गरेका प्रभु साहलाई सघाएका छन्। 

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा मधेश प्रदेशमा जित्ने आधार देखिएका निर्वाचन क्षेत्रहरु जम्मा २१ वटा छन्। जसमा सप्तरी–१ (३३,१८४), सप्तरी–३ (३६,०४८), सप्तरी–४ (३६,१९३), सिरहा–२ (३३,८९५), सिरहा–४ (२८,२८९), धनुषा–१ (४०,४१८), धनुषा–३ (३५,५८१), धनुषा–४ (३९,९७७), महोत्तरी–१ (३७,६११), महोत्तरी–२ (४२,२१७), महोत्तरी–३ (२९,५४३), महोत्तरी–४ (३७,९६९), सर्लाही–१ (५४,३३४), सर्लाही–३ (४८,५६८), सर्लाही–४ (५७,०८६), रौतहट–१ (५६,८७९), रौतहट–२ (४४,१७०), रौतहट–४ (५५,२७१), बारा–४ (४५,७०१), पर्सा–३ (३१,२४६) र पर्सा–४ (३२,४४६) पर्छन्।

सत्ता गठबन्धनविरुद्ध छुट्टै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र जसपाका वडाध्यक्षका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा मधेश प्रदेशमा जित्ने आधार देखिएका निर्वाचन क्षेत्रहरु ७ वटा छन्। जसमा सप्तरी–१ (३४,२९५), सिरहा–१ (३४,७१०), सिरहा–३ (३५,२२१), बारा–२ (३८,७५२), बारा–३ (३४,९३३), पर्सा–१ (२९,०४१ र पर्सा–२ (३२,२६३) पर्छन्।

सत्ता गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गरिरहेको क्षेत्रको हिसाबकिताब 
सत्ता गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको धनुषा–२ मा कांग्रेसको २१ हजार २३२ र एकीकृत समाजवादीको ८ हजार ९९७ मत छ। यहाँ माओवादीको १० हजार ७९४ र लोसपाको ६ हजार ७१३ मत छ। यस्तै जसपाको १३ हजार ८८९, एमालेको ११ हजार ५८३, जनमत पार्टीको ४ हजार २८३ मत छ। 

त्यस्तै, सर्लाही–२ मा लोसपाको १२ हजार ३६६ र माओवादी केन्द्रको ७ हजार ७३७ मत स्थानीय तह निर्वाचनले देखाएको छ। यहाँ कांग्रेसको २४ हजार ६२०, एकीकृत समाजवादीको २ हजार २२१ मत छ। उता जसपाको १९ हजार ६४२, एमालेको ७ हजार ६७९, जनमत पार्टीको ३ हजार ४२, र राप्रपाको ७४२ मत छ। 

सत्ता गठबन्धनले प्रभु साहलाई सघाएको क्षेत्रको हिसाबकिताब 
सत्ता गठबन्धनले रौतहट–३ मा एमाले परित्याग गरेका नेता प्रभु साहलाई प्रतिनिधि सभा सदस्यमा सघाउँदै छन्। यो क्षेत्रमा माओवादीले रवीन्द्र पटेललाई उम्मेदवारी दिन लगाएको थियो। 

तर, पछि उसले स्वतन्त्र उम्मेदवार साहलाई सघाउने भन्दै पटेललाई फिर्ता बोलाएको थियो। यद्यपि, उम्मेदवारी फिर्ता लिन नमानेपछि माओवादीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएका मत अनुसार रौतहट–३ मा एमाले सबैभन्दा बलियो देखिन्छ। उक्त मतअनुसार यहाँ एमालेको पक्षमा २१ हजार ७२९ मत छ। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार साह एमालेमै रहेका कारण यो मत अब प्रभावित हुन सक्छ। 

यहाँ कांग्रेसको १९ हजार २४१, एकीकृत समाजवादीको ११ हजार ७३६, माओवादीको ११ हजार २७९, जसपाको ९ हजार ४८३, जनमत पार्टीको १ हजार २९० र लोसपाको १ हजार ९७ मत छ।

विश्लेषकका नजरमा मधेशको निर्वाचन
मधेश प्रदेशको राजनीतिलाई नजिकबाट नियाल्दै आएका विश्लेषकहरु मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनले मधेश प्रदेशमा राम्रो नतिजा ल्याउने बताउँछन्।

नेपालखबरसँगको टेलिफोन कुराकानीमा विश्लेषकद्वय चन्द्रकिशोर झा र तुलानारायण साहले सत्ता गठबन्धनले मधेश प्रदेशमा राम्रो नतिजा ल्याउने प्रतिक्रिया दिए। 

‘मधेशमा सत्ता गठबन्धनको पक्षमा राम्रो जनलहर देखिन्छ। नेपाली कांग्रेस ठूलो दलको रुपमा आइरहेको छ,’ विश्लेषक झाले भने, ‘नेपाली कांग्रेस डबल डिजिट सिटमा जित्छ।’ 

उनले मधेशका ३२ सिटमध्ये एमाले र जसपाले बढीमा ५–५ सिट जित्न सक्ने अनुमान आफूले गरेको बताए। 

अर्का विश्लेषक साहले कुन दलले कति सिट जित्छन् भन्ने बारेमा अहिले भन्न सकिने अवस्था नभए पनि कांग्रेसका कारण सत्ता गठबन्धनले राम्रो नतिजा ल्याउने बताए। 

‘सत्ता गठबन्धनले राम्रो नतिजा ल्याउँछ किनभने स्थानीय तहको चुनावमा कांग्रेस बलियो पार्टीका रुपमा देखिएको छ,’ उनले भने। 

मधेशमा बुहपक्षीय प्रतिस्पर्धा भएका कारण संख्यात्मक हिसाबले परिणाम आकलन गर्न भने गाह्रो भएको साहले बताए।

‘बागी र स्वतन्त्रहरु बढी उठेका भएर भोट खण्डित हुन्छ। थोरै मतले जितहार हुन्छ,’ उनले भने, ‘बहुपक्षीय प्रतिस्पर्धामा परिणाम आकलन गर्न गाह्रो हुन्छ। तर, सत्ता पक्षले संघ र प्रदेशमा राम्रो परिणाम ल्याउँछ।’

साहले मधेशवादी र वामपन्थी दलबीचको गठबन्धन, मधेशी आन्दोलनको रापताप र संविधानप्रतिको असन्तुष्टिका कारण २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेस चेपुवामा परेर कमजोर भएको पनि बताए। तर, अहिले भने मधेशमा कांग्रेस अनुकूल राजनीतिक वातावरण बनेको साहको भनाइ छ। 

‘मधेशी र वाम गठबन्धनको चेपुवामा थियो नेपाली कांग्रेस, त्यसकारण त्यो चुनावमा परिणाम राम्रो आएन। फेरि आन्दोलनको रापताप थियो। कांग्रेसले नै जारी गरेको संविधानप्रति असन्तुष्टि थियो,’ उनले भने, ‘तर, यसपटक कांग्रेसको नयाँ खालको माहौल बनेको छ। स्थानीय तह निर्वाचनले नेपाली कांग्रेस बलियो देखाएको छ।’

जसपा र लोसपाका शीर्ष नेता संकटमा
मधेशवादी दलहरु जसपा र लोसपा अन्य दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचनमा गइरहेका भए पनि दुवै दलका शीर्ष नेताहरुलाई भने जित निकाल्न सकस देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई जित निकाल्न सकस देखिएको हो। 

विश्लेषक झाले यादव, ठाकुर र महतोलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन निकै कठिन देखिएको बताए। 

‘उहाँहरुको जित सहज देखिँदैन। कडा प्रतिस्पर्धा हुने देखिन्छ। यही नै हुन्छ भनेर अनुमान गर्न गाह्रो छ,’ उनले भने। 

एमालेसँग चुनावी तालमेल गरेपछि पार्टी कार्यकर्ताहरुमा देखिएको असन्तुष्टि र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका कारण जसपा अध्यक्ष यादवलाई निर्वाचनमा चुनौती थपिएको विश्लेषक साहको भनाइ छ। 

‘महन्थजी उमेरका कारण अशक्त हुनुभयो। फेरि लोसपाको आकर्षण पनि घट्दै गएको छ। पार्टी खण्डित हुँदै गयो, नेता–कार्यकर्ताहरु उपेन्द्रजीसँग गए,’ उनले लोसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई चुनाव जित्न देखिएको कठिनाइबारे विश्लेषण गर्दै भने, ‘राजेन्द्रजी डुलुवा क्यान्डिडेट भन्ने परेको छ।’

नेपालखबर चुनाव ब्रिफिङ :

कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .