ad ad

राजनीति


‘माननीय’ श्रीमान्, ‘सभापति’ श्रीमती

रोल्पा र रुकुमबीचको प्रेमको प्रतीक बनेको जोडी
‘माननीय’ श्रीमान्, ‘सभापति’ श्रीमती

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १७:८, काठमाडौँ

मुलुक संघीय संरचना गएपछि स्थानीय तह अन्तर्गत त्यसअघिको जिल्ला विकास समिति (जिविस)को शक्ति र संरचना मात्र कमजोर भएन, नाम पनि परिवर्तन भयो। 

स्थानीय सरकारका रुपमा गाउँपालिका र नगरपालिकालाई शक्तिशाली बनाइँदा पुरानो जिविसको नाम परिवर्तन गरी जिल्ला समन्वय समिति (जिसस) राखियो।  

पहिले जिविस प्रमुख–उपप्रमुख (सभापति–उपसभापति) का लागि वडा सदस्यसम्मका जनप्रतिनिधिले मतदान गर्थे। संघीय संरचनामा गएपछि बनेको जिसंसका प्रमुख–उपप्रमुखको निर्वाचन स्थानीय तहका प्रमुख–उपप्रमुखको मतदानका आधारमा मात्र भयो। 

जिविस र जिससबीचको अर्को फरक के भयो भने, जिविसका अगुवालाई सभापति भनिन्थ्यो। जिससका अगुवालाई चाहिँ प्रमुख नामाकरण गरियो।  

तर, अधिकांश मानिसहरु जिसस प्रमुखलाई ‘प्रमुखज्यू’ भन्नुभन्दा ‘सभापतिज्यू’ नै भन्न रुचाउँछन्। सायद पञ्चायत र बहुदलदेखिको बानीका कारण यस्तो भएको होला। 

अनि सांसदहरु आफूलाई ‘सांसदज्यू’ भन्दा ‘माननीयज्यू’ भनेर गरिएको सम्बोधन ज्यादा रुचाउँछन्। 

६ महिनाको अवधिमा भएको स्थानीय तह र आम निर्वाचनबाट माओवादीको एउटा जोडीले ‘सभापति’ र ‘माननीय’ बन्ने अवसर पाएको छ। 

रुकुमपूर्वका माओवादी नेता पूर्णबहादुर घर्ती र रोल्पाकी माओवादी नेतृ सीता आचार्यले यस्तो अवसर प्राप्त गरेका हुन्। 

२९ जेठ (०७९) मा भएको निर्वाचनमा माओवादी नेतृ आचार्य १३ मत प्राप्त गरी रोल्पा जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएकी थिइन्। 

रोल्पाका १० मध्ये ७ वटा स्थानीय तह प्रमुख–उपप्रमुखमा माओवादीले विजय हासिल गरेको थियो। निर्वाचनमा १३ मत प्राप्त गर्दै आचार्य प्रमुखमा निर्वाचित भएकी थिइन्। 

१ मत बदर भएको निर्वाचनमा कांग्रेस उम्मेदवारले ५ मत प्राप्त गरेका थिए।  

आचार्य प्रमुख निर्वाचन भएको ६ महिना नबित्दै लुम्बिनी प्रदेश सभाका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती रुकुमपूर्वबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्, जो रोल्पा जिसस प्रमुख आचार्यका पति हुन्।

विजयी घर्तीले १२ हजार २ सय ६२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत मात्र प्राप्त गरेका छन्। 

जनयुद्धकालमा यो जोडी सांस्कृतिक अभियानमा अग्रणी थियो। घर्ती गीत रचना र संगीतमा पोख्त थिए भने आचार्य पनि रचना र गायनका कारण चर्चित थिइन्। 

रोल्पा–रुकुमको माओवादीपंक्ति र जनतालाई समेत जनयुद्धका लागि तयार पार्न माओवादीले सञ्चालन गरेको एउटा सांस्कृतिक अभियानका क्रममा वैवाहिक जीवनमा बाँधिएकाले यो जोडी माओवादी पंक्तिभित्र जनयुद्धपूर्वदेखि नै चर्चित थियो। 

त्यो सांस्कृतिक अभियानको नाम थियो– सिज अभियान। 

रुकुमको ‘सिस्ने हिमाल’ र रोल्पाको ‘जलजला हिमाल’ लाई बिम्ब बनाएर नामाकरण गरिएको ‘सिज अभियान’ मा रुकुमको सांस्कृतिक टोलीको नेतृत्व घर्ती र रोल्पाको सांस्कृतिक टोलीको नेतृत्व आचार्यले गरेका थिए।

त्यो अभियानले दुई जिल्लाका दर्जनौँ माओवादी कार्यकर्तालाई जनयुद्धका लागि मानसिक रुपमा तयार पार्यो। गीत–संगीतमार्फत् यो टोलीले जगाएको जागरणका कारण जनताहरु पनि आकर्षित भए।

रोल्पा–रुकुम माओवादीको आधार क्षेत्र निर्माण हुनुमा ‘सिज अभियान’ को महत्वपूर्ण भूमिका रहेको मानिन्छ।  

आ–आफ्नो जिल्लाको सांस्कृतिक टोलीको नेतृत्व गरेका घर्ती र आचार्य त्यही अभियानको क्रममा एक अर्काप्रति आकर्षित भए। 

जनयुद्ध सुरुवातको पूर्वसन्ध्यामा उनीहरुबीच विवाह पनि भयो। 

त्यसैले, यो जोडीलाई ‘सिज अभियानले जन्माएको जोडी’ भनिन्थ्यो। उनीहरुबीचको प्रेमसम्बन्धलाई ‘रोल्पा–रुकुमबीचको प्रेम’ का रुपमा पनि चित्रण पनि गरिन्थ्यो। 

२०६९ मा भएको माओवादी विभाजनमा घर्ती र आचार्य दुवैजना मोहन वैद्य (किरण) समूहतिर लागेपछि उनीहरु  ओझेलमा परे। 

तर, २०७३ मा माओवादीमा फर्केपछि घर्तीलाई पहिलोपटक राजकीय अवसर मिल्यो। २०७४ को निर्वाचनमा रुकुमपूर्व ‘ख’ बाट उनी प्रदेश सभामा निर्वाचित मात्र भएनन्, लुम्बिनी प्रदेशको सभामुख समेत बने। 

२०७४ मा निर्वाचित प्रदेश सभाका सभामुखमध्ये कुशलतापूर्वक जिम्मेवारी निभाउनेमा घर्तीलाई अग्रणी मानिन्थ्यो। 

घर्ती प्रदेश सभा सदस्य र सभामुख भएको ४ वर्षपछि आचार्यले पनि रोल्पा जिल्ला समन्वय समितिको प्रमुख बन्ने अवसर पाइन्। 

माओवादीबाट जिसस प्रमुख बन्ने पहिलो नेतृ आचार्य नै हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .