ad ad

राजनीति


गृहमन्त्रीले भने : विरोधीहरुको तारोमा परेर चुनाव हारेँ, यही गठबन्धन पाँच वर्ष जान्छ

गृहमन्त्रीले भने : विरोधीहरुको तारोमा परेर चुनाव हारेँ, यही गठबन्धन पाँच वर्ष जान्छ

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १२:१४, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। 

रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यहीअनुरुप अगाडि बढिने बताए। 

यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाणले बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ। 

‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ। पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ।’

रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका थिए। 

‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ। तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ। तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने। भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गरेका थिए। 

आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको बताउँदै उनले त्यो सहजतापूर्वक पूरा गरेको बताए। 

गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा-प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूणर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताए। 

जनताको लामो संघर्षपछि आएको व्यवस्था मजबुत बनाउन गठबन्धन बनाएर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाणले बताए। 

आफू निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उनको भनाइ थियो। 

गठबन्धन नगरी मुलुकको राजनीति सम्हाल्न र मुलुकमा विकासको गति अगाडि बढाउन नसकिने उनको दाबी थियो। 

उनले पाँच दलीय गठबन्धनविरुद्ध एमाले नेतृत्वमा बनेको विपक्षी दलहरुको गठबन्धन प्रतिगमनकारी भएको बताए। 

वर्तमान सरकारले जसले गणतन्त्र र संघीयता स्वीकार गरेको छैन् त्यसलाई पनि निर्वाचनमा भाग लिने अवस्थासम्म पुर्‍याउन सकेको बताए। 

गणतन्त्र र संघीयता समेटिएको संविधान र त्यही संविधान अनुरुप बनेका कानुन अनुसार भएको निर्वाचन स्वीकार गरेपछि त्यो पार्टीले पनि गणतन्त्र र संघीयता स्वीकारेको ठहरिएको उनको भनाइ थियो। 

आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुन नदिने गृहमन्त्री खाणको भनाइ थियो। 

आफू सरकारमा भए पनि नभए पनि गठबन्धनका पक्षमा रहने र सफल पार्न लागिरहने उनको भनाइ थियो। 

बैठकमा बोल्ने अन्य नेताहरुले गठबन्धन दलहरुका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताएका थिए। 

बैठकमा गठबन्धनका तर्फबाट उम्मेदवार भई प्रदेश सभा (क)मा निर्वाचिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेलाई गृहमन्त्री खाणले सम्मान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .