ad ad

राजनीति


मलाई ‘सुरक्षा थ्रेट’ बढ्यो, मार्न वा तर्साउन खोजेको बुझिनँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)

मलाई ‘सुरक्षा थ्रेट’ बढ्यो, मार्न वा तर्साउन खोजेको बुझिनँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)

बास्कोटा भन्छन्– ट्रेनिङप्राप्त अपराधीले प्लानिङमै गरेको काम हो। तस्बिर : नेपालखबर।


रुपक चौलागाईं
मंसिर १८, २०७९ आइतबार १०:१९, काठमाडौँ

काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा आइतबार बिहानै एक शंकास्पद वस्तु फेला पर्‍यो। भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। 

लगत्तै, प्रहरीको समन्वयमा नेपाली सेनाको टोली पुगेर उक्त शंकास्पद वस्तु निस्क्रिय पारेको छ। भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेका अनुसार अब फोरेन्सिक ल्याबमा लगेर उक्त शंकास्पद वस्तुको बारेमा अनुसन्धान हुनेछ।

शंकास्पद वस्तु फेला पर्दा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका बास्कोटा भने घरमा थिएनन्। काभ्रेमा आयोजित धन्यवाद सभामा व्यस्त भएका बास्कोटा अहिले आफ्नै गृहनगरमा आयोजित कार्यक्रममा छन्। गत फागुन २८ गते पनि बिहानै पनि उनको घरमा बम विस्फोट भएको थियो। यसरी पटक पटक भएको बम विस्फोटले आफूलाई ‘सुरक्षा थ्रेट’ बढेको बास्कोटा बताउँछन्। 

शंकास्पद वस्तु फेला परेपछि बास्कोटासँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

तपाईंको घरमा शंकास्पद वस्तु फेला परेर सेनाको टोलीसमेत पुगेको छ। खास के भएको हो? 
मलाई थाहा नै थिएन, म हिजादेखि नै गाउँमा थिएँ। धन्यवाद ज्ञापनका लागि हिँडिरहेको थिएँ। मेरो म्यामहरु यता गाउँमा आउन निस्कन लाग्दा छिमेकीले खबर गरेपछि थाहा पाइएछ।

घरमा चाहीँ को–को हुनुहुन्थ्यो?
मेरो मिसेस र छोरा छोरी घरमा थिए। मैले मिसेसलाई पनि गाउँमै आउन भनेको थिएँ। त्यसका लागि बिहानै निस्कँदा छिमेकीमार्फत थाहा भएको रहेछ। सिसिक्यामेराले कभर नगर्ने ठाउँमा प्रेसरकुकरमा वाइरिङ फिट गरेर राखिएको थियो उनीहरुलाई पनि छिमेकीले नभनेको भए थाहा नपाउन सकिन्थ्यो। 

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्दै नेपाली सेनाको टोली। तस्बिर सरोज बैजु/नेपालखबर।

कसैले योजनावद्ध रुपमा नै राखेको भन्न खोज्नुभएको हो?
यो प्लानिङमा नै भएको जस्तो देखियो। यो ट्रेनिङप्राप्त अपराधीहरुको काम हो। को को संलग्न छन कसरी जान्नु।

तपाईं फर्कंदै हुनुहन्छ? सुरक्षा निकायसँग समन्वय भयो?
आज मेरो गृहनगरको कार्यक्रममा छु। अहिले पनि कार्यक्रम चलिरहेको छ। कार्यक्रम छाड्ने कुरा भएन। म त्यहाँ आएर केही हुने होइन, अनुसन्धान गर्ने सरकारको काम हो। सुरक्षा निकायबाट टोली पुगेको खबर पाएको छु। उहाँहरुले अनुसन्धान गर्नुहुन्छ होला।

यसअघि पनि एकपटक विस्फोट भएको थियो। तपाईंलाई कोहीमाथि शंका छ? 
मेरो विरुद्धमा यस्तो भएको ३ पटक भइसक्यो। कसले गरेको भन्ने पत्ता लाउन सकेको छैन। अपराधीको कुरा कसले के गर्‍यो कसरी थाहा हुन्छ र! संस्थागत हो कि व्यक्तिगत के हो मैले बुझ्न सकेको छैन। सरकारले पहिलाका मान्छे छाड्यो। छाड्न नहुने थियो। अदालतबाटै छुटाइदिए, हामी निमुखा र साधरण मान्छेको के लाग्छ र?

पटक पटक तपाईंकै घरमा यस्ता वस्तु फेला पर्नुले त सुरक्षा थ्रेट बढायो नि? 
तार्गेट नै बनाएको जस्तो देखियो। कसले, के उद्धेश्यले बनाएको हो भन्ने बुझ्न सकिएन। मलाई द्धन्द्धकालमा पनि एक पटक त्यस्तो भएको थियो। अलि पहिला पनि भयो। अहिले पनि भयो। म धेरैदिनदेखि जिल्लामै छु।

मार्ने वा सिध्याउने भन्ने उद्धेश्य नभएको भए किन त्यस्ता वस्तुहरु राखिन्थ्यो होला त! वाइरिङ फिट गरेको कुकरजस्तो चिज फेला परेको छ भन्ने आएको छ। 

कानुनी उपचारका लागि के गर्नुहुन्छ त? 
मैले त के गर्ने खै, एउटा राज्यको निर्वाचित मान्छे हुँ। थर्ड पपुलर भोट लिएर जितेको छु। पटक पटक हमला भइरहेको छ। यो त सरकारले ध्यान नदिएको जस्तो देखियो नि। अरु भन्दा पनि मलाई सुरक्षा थ्रेट बढ्यो। यो तर्साउन वा मार्न खोजिएको कस्तो हो भन्ने के जान्नु। एउटै मान्छेमाथि पटक पटक यस्तो हुने मैले कसको के गरेको छु र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .