नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शीर्ष तहको भेटघाटलाई तीव्र बनाएका छन्। नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा नेपालले राजनीतिक दलका नेताहरुसँगको संवाद बढाएका हुन्।
अध्यक्ष नेपालले आइतबार पनि लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका थिए। पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार अध्यक्ष नेपालले आइतबार दिउँसो ठाकुरसँग भेट गरेका थिए।
ठाकुरसँगको भेटमा सत्ता समिकरणको विषयमा छलफल भएको थियो। ‘नयाँ सरकार गठनबारे उहाँहरुबीच कुराकानी भएको हो,’ महासचिव भुसालले नेपालखबरलाई भने, ‘चुनावअघि भएको सहमति अनुसार नै गठबन्धनबाट अघि बढ्नेबारे छलफल भएको थियो।’
साथै, आइतबार नै उनी कम्युनिस्ट नेता वामदेव गौतमसँग भेट गरेका थिए। गौतमसँगको भेटघाट भने सत्ता समिकरणसँग सम्बन्धित नभएको उनले बताए।
लामो समय एमालेमा सँगै राजनीति गरेका नेपाल र गौतमले नेकपा विभाजनसँग बाटो अलग गरेका थिए।
वामपन्थी दलहरु एकीकृत गर्ने तयारीमा लागेका गौतमले पछि आफैं दल घोषणा गरेका थिए। उनले नेकपा एकता राष्ट्रिय अभियान घोषणा समेत गरेका थिए।
निर्वाचनमा मौनजस्तै भएका गौतमसँग अध्यक्ष नेपालले छलफल गरेर अघि बढ्ने बताएका हुन्।
गौतम र ठाकुरसँगको छलफलपछि बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वामपन्थी दलहरु मिलेर अघि बढ्ने निर्णय गरेको छ। निर्णय गर्नुअघि नेपालले गौतमसँग भेट गरेर त्यसबारे छलफल गरेका थिए।
एकीकृत समाजवादीको बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो।
निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
Shares

प्रतिक्रिया