राजनीति


पहिलो चुनावबाटै उदाएको रास्वपामा भूमिगत शैली

बैठक स्थल गोप्य, भेटवार्ता गोप्य, सांसदहरूलाई नबोल्न निर्देशन, सभापति रविलाई सर्वाधिकार
पहिलो चुनावबाटै उदाएको रास्वपामा भूमिगत शैली

सागर न्यौपाने
पुस ४, २०७९ सोमबार २२:१६, काठमाडौँ

पुराना दलहरुको कार्यशैलीप्रति वितृष्णाबीच उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ महिनामै संसद यात्रा तय गरेको छ।

पहिलो निर्वाचबाटै यो पार्टी राष्ट्रिय दलमात्रै बनेन, संसदको चौथो शक्तिका रुपमा पनि स्थापित भयो। संसदको चौथो शक्ति बनेकाले सरकार निर्माणका लागि ठूला दललाई बहुमत पु¥याउन रास्वपा एउटा निर्णायक शक्ति हो। 

युवा, शिक्षित र बौद्धिक व्यक्तिहरु, डाक्टर, सामाजिक विज्ञ र अभियन्ता, आविष्कारक, चिन्तक रास्वपामा छन्।

पुराना र ठूला पार्टीलाई माथ खुवाउनेगरी नयाँ दृष्टिकोण, योजना र गतिसहित वैकल्पिक शक्ति बन्ने सम्भावना देखिएको रास्वपामा सभापति कार्यकारी हुन्छन्। 

यसको कार्य सञ्चालन गर्न २४ सदस्यीय केन्द्रीय समिति छ। तर, सभापति रवि लामिछानेले पार्टीमा केही असीमित अधिकार प्रयोगको अभ्यास थालिसकेका छन्।

पत्रकारिताबाट समाज रुपान्तरण, पारदर्शिता र सुशासनको वकालत गरिरहेका लामिछानेले पार्टीभित्र आफू एक्लै हाबी हुने गरी केही निर्णय गराइसकेका छन्।  

सोमबार बूढानीलकण्ठस्थित एक होटलमा गोप्यरुपमा बसेको संसदीय दलको बैठकले सरकारमा जानेबारे निर्णय गर्ने सर्वाधिकार लामिछानेलाई दिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। 

कांग्रेस र एमालेले रास्वपालाई लिएर सरकार निर्माण गर्ने योजना बनाएका छन्। त्यहीअनुसार उनीहरुले रास्वपासँग छलफल गरिरहेका छन्। 

गोप्य रुपमा रास्वपाको बैठक बसेको पबेरा होटल

सरकारमा जाने र नजाने दुई धार भएपछि लामिछानेले निर्णयअधिकार आफूमा राखेको एक पदाधिकारीले दाबी गरे। 

‘सरकारका विषयमा निर्णय गर्नेगरी पार्टी सभापतिलाई अधिकार प्रत्यायोजित गरिएको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँले अरु दलका शीर्ष नेतासँग संवाद, भेट र छलफलबाट आफैँ निर्णय गर्न पाउनुहुन्छ। त्यो भनेको सर्वाधिकार उहाँमा केन्द्रित गरिएको हो।’

चुनावी परिणाम सार्वजनिक भएपछि लामिछानेले विभिन्न दलका शीर्ष नेता र पदाधिकारीलाई भेटिरहेका छन्। तर, सबै भेट गोप्य राखिएका छन्। 

चुनावी वाचापत्रमा उल्लेखित कुरा कार्यान्वयन गराउने प्रतिवद्धता आए सरकारमा जानुपर्ने पक्षमा सांसदहरुले राय दिएपछि विवाद हुन नदिन निर्णय आफै गर्नुपर्ने ठाउँमा लामिछाने पुगेका हुन्।  

‘रास्वपा विचार, सिद्धान्त, संगठन र कार्यकर्ता भएर बनेको पार्टी होइन,’ एक नेताले नेपालखबरसँग भने, ‘रविजीले टीभी कार्यक्रम चलाउँदा उठाएका एजेण्डा मन परेर मत दिएका हुन्। यो मतदाता बेस्ड पार्टी हो। यहाँ उहाँले जे भन्यो त्यही हुन्छ। जे चाह्यो त्यही हुन्छ।’

रास्वपाको संसदीय दलमा २० जना छन्। डा. मुकुल ढकाल प्रवक्ता भएकाले दलको बैठकमा उनी सहभागी हुन पाउँछन्। त्यसबाहेक डा. ढकाल दलहरुबीच हुने राजनीतिक छलफलमा सभापतिसँगै हुन्छन्।

सरकारमा जाने विषयमा रविले अहिलेसम्म मुख खोलेका छैनन्। 

चितवनको आफ्नो निर्वाचन क्षेत्र अनुगमनका क्रममा रवि

तर, उनले त्यसका लागि वातावरण बनाइरहेका छन्। लामिछानेबाट सकारात्मक ‘सिग्नल’ पाएको छलफलमा सहभागी शीर्ष नेतानिकट स्रोतले नेपालखबरलाई बताएको छ।

यद्यपि अन्तिम निर्णय भइनसकेकाले हेरफेर सम्भावना पनि छ। 

लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भेटवार्ता गरिसकेका छन्। यस्तै एमाले उपाध्यक्षहरुसँग पनि उनले औपचारिक/औपचारिक संवाद गरिरहेका छन्। कांग्रेसका केही नेतासँग पनि लामिछाने संवादमै छन्। यस्तोमा उनी सरकारमा जान कांग्रेससँग पनि केही लचक देखिएका छन्। 

त्यहीकारण सरकारबारे निर्णय गर्न आफूलाई सहज हुनेगरी लामिछानेले सबै निर्णय शक्ति लिएका हुन्। यसबारे पार्टीभित्र कुनै विवाद त देखिएको छैन। अरु नेताहरुले पनि मुख खोलिसकेका छैनन्।

नबोल्न निर्देशन, भूमिगत शैली 
रास्वपा सभापति लामिछानेले नेताहरुसँग भेटेको कुनै तस्वीर सार्वजनिक गरिएको छैन। उनले को कोसँग भेटे भन्ने जानकारी पनि उनकै पार्टीका धेरै नेताहरुलाई थाहा छैन।

यतिसम्म कि सोमबार बसेको संसदीय दलको बैठकको विवरणसमेत गोप्य राख्ने प्रयास गरियो। बिहान ९ बजे बैठक बस्ने भनेर सबै सांसदलाई जानकारी गराइयो। तर, स्थान गोप्य राख्न सभापति लामिछानेले निर्देशन दिएको एक सांसदले नेपालखबरलाई बताए। 

बूढानीलकण्ठस्थित होटल पबेरामा बसेको बैठकका निर्णय पनि सार्वजनिक गरिएको छैन। त्यसअघि शुक्रबार केन्द्रीय समिति बैठक बसेको थियो। त्यस बैठकबारे पनि सार्वजनिक जानकारी दिइएन। 

चितवनमा रासायनिक मलको अवस्था बुझ्दै रवि

चितवन क्षेत्र नम्बर २ बाट भारी मतसहित संसदीय यात्रा थालेका लामिछानेले आफ्नो क्षेत्रमा अनुगमन गर्दा केही युट्युबर र पत्रकारलाई साथै लगेर प्रत्यक्ष प्रशारण गराइरहेका छन्। 

तर, दलभित्र भने उनले भूमिगत शैली अभ्यास गर्न खोजिरहेको केही नेताहरुलाई लागेको छ। 

‘कतिपय कुरा हामीलाई पनि जानकारी हुँदैन, सभापतिले आफैँ मिलाइरहनुभएको हुन्छ, उहाँले भने थाहा हुन्छ, नभए मिडिया हेरेर थाहा पाउँछौं,’ एमाले अध्यक्ष ओलीसँग शुक्रबारको (१ पुस) भेटबारे समाचार हेरेरै थाहा पाएको उदाहरण दिँदै अर्का नेताले थपे।

रास्वपा भूमिगत पार्टी होइन। प्रत्यक्ष र समानुपातिकमा जनताको मत पाएर उदाएको पार्टीका सांसदहरुलाई केही समय नबोल्न सभापतिले निर्देशन दिएका छन्। 

‘सांसदको शपथ नगरी नबोल्न पार्टी सभापतिले निर्देशन दिनुभएको छ,’ एक सांसदले नेपालखबरसँग गुनासो गर्दै भने।

त्यसो त लामिछाने आफैँले पनि त्यति धेरै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। तर, सुशासन र पारर्शिताको वकालत गर्ने पार्टीको शैली भने भूमिगत जस्तै देखिएको छ।

पार्टी उपसभापति डोलप्रसाद अर्याल यसलाई सामान्य लिनुपर्ने तर्क गर्छन्।

‘अध्यक्षले कसैसँग भेट्ने कुरा उहाँको अधिकार क्षेत्रभित्र पर्छ, दलभित्र जानकारी दिएर, फलानोलाई भेट्छु भनेर पहिल्यै भन्नेकुुरा कत्तिको व्यवहारिक होला?,’ अर्यालले भने, ‘कतिपय काम अध्यक्षले आफ्नो अनुकूलतामा गर्न सक्नुहुन्छ। पछि पार्टी बैठकमा त्यसबारे जानकारी दिए भइहाल्यो।’ 

यथास्थितिका दलहरुभन्दा फरक राजनीति गर्ने संकल्प गरेर उदाएको रास्वपालाई अन्य दलजस्तो नबुझ्न प्रवक्ता डा. मुकुल ढकाल आग्रह गर्छन्।

‘अन्य पार्टीकै जस्तो यो पार्टीलाई नहेरौँ, हामी फरक ढंगले चल्छौँ, यहाँ फरक अभ्यास हुन्छन्,’ ढकालले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .