राजनीति


मुद्दा लागेका महतो र गुरुङलाई सांसदका रूपमा काम गर्न नदिन संसद्‌मा पत्राचार

मुद्दा लागेका महतो र गुरुङलाई सांसदका रूपमा काम गर्न नदिन संसद्‌मा पत्राचार

फाइल तस्बिर : प्रतिनिधिसभा सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरी


नेपालखबर
पुस ११, २०७९ सोमबार १३:४०, सर्लाही

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय लक्ष्मी महतो कोइरी र टेकबहादुर गुरुङले सांसदका रूपमा कामकाज गर्न नपाउने भएका छन्। 

एमाले सांसद कोइरी र कांग्रेस सांसद गुरुङले गत बिहीबार मात्र पदको शपथ खाएका थिए। तर नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संघीय संसदलाई पत्र पठाउँदै उनीहरूविरुद्ध मुद्दा भएकाले सांसदको हैसियतमा काम गर्न नदिन भनेका हुन्।  

एमाले सांसद कोइरी महोत्तरी १ र कांग्रेस सांसद गुरुङ मनाङबाट विजयी भएका हुन्। 

कोइरीेविरुद्ध सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ भने गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। 

महतो र गुरुङलाई शपथ नगराउन नागरिक स्तरबाट माग भए पनि कुनै लिखित जानकारी नरहेको भन्दै बिहीबार संसद् सचिवालयले उनीहरूलाई अन्य सांसदसँगै शपथ समारोहमा सहभागी गराएको थियो। 

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोइरी र गुरुङको मुद्दाको विषयमा पत्र आएको जानकारी दिए। अब कोइरी र गुरुङले प्रतिनिधिसभा सदस्यका हैसियतमा कुनै पनि काम/कारबाहीमा सहभागी हुन नपाउने उनले बताए।

‘अब पत्रबारे हामी सम्बन्धित दललाई जानकारी गराउने छौँ’,  पाण्डेले भने, ‘मुद्दाको किनारा नलागेसम्म उहाँहरूले सांसदका रूपमा कुनै पनि काम/कारबाहीमा सहभागी बन्न पाउनुहुने छैन।’  

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको मुद्दा लागेका सांसद कोइरी ७ वर्षदेखि प्रहरीको फरार सूचीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad