राजनीति


झलनाथको प्रतिवेदन : डेढ वर्षयता कम्युनिष्ट कार्यकर्ताहरु रोइ रोइ हिँड्नुपरेको छ

झलनाथको प्रतिवेदन : डेढ वर्षयता कम्युनिष्ट कार्यकर्ताहरु रोइ रोइ हिँड्नुपरेको छ

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०७९ आइतबार १४:५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा लिखित विचार राख्दै कम्युनिष्ट कार्यकर्ताहरु रोइ रोइ हिँड्नुपरेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबारबाट आफ्नो लिखित भनाइ राख्ने क्रममा खनालले हिजोको नेकपा एमाले दुईतिहाइबाट पनि तल झरेको उल्लेख गरे। यस पटक एमालेले सामान्य बहुमत पनि ल्याउन नसकेको दाबी गरे। 

'खास अवस्थामा केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात् गरिने एकताले कति दुखदायी परिणाम आउन सक्छन भन्ने कुरा तीन वर्षको अवधिमा नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइ रोइ भोग्नुपरिरहेको छ', उनले भने 'त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ। हामीले त्यस्ता दुर्घटनाबाट गहिरो शिक्षा लिनुपर्छ। पार्टी र पार्टी नेता कार्यकर्ताहरुलाई त्यस्ता दुखद परिणामहरु बाट बचाउनुपर्छ।'

उनले पार्टी एकता वैचारिक,राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता भएको व्याख्या गरे। 'यस्तो एकताका निम्ति हामी सधैँ तत्पर हुनुपर्छ । त्यस्तो सम्भावना देखिनेबित्तिकै पक्रनु पर्छ र एकताको निम्ति अघि बढ्नुपर्छ', उनले भने, 'तर स्वार्थपूर्ण एकताका प्रस्तावबाट हामी हरबखत सर्तक हुनुपर्छ। नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका लागि हामीले सधै सक्रिय र दृढ बन्नुपर्छ।'

उनले यो चुनावबाट कम्यनुनिष्टहरुको झन् बिजोग भएको बताए। 'माओवादी पार्टी पहिलेको भन्दा कमजोर भएको छ। हाम्रै पार्टी पनि अघि बढ्न सक्दैन भन्ने चिन्तन छ। यो पलायनवादी र विसर्जनवादी चिन्तन हो', उनले भने, 'यदि हामी अहिले पार्टी जसरी चलिरहेको छ। त्यसरी नै चलिरहने हो भने यो पार्टी अझ बढी खुम्चिदै जान्छ र अन्त्यमा चल्न नसक्ने अवस्थामा पुग्छ। डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको चिन्तन छ।'

अर्कातिर अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले आफूहरुले एमालेमा फर्किने या माओवादीमा विलय हुनुपर्ने धारणा उठेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .