राजनीति


सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २३, २०७९ शनिबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो। 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकाबारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ। 

नेकपा एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको  समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक गर्न लागेको हो। 

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भइसकेका छन्। यस्तै दलको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।

संसदीय दलको बैठकअघि कांग्रेस सभापति देउवाले सत्तारुढ दलकै केही नेताहरूसँग भेटवार्ता गरेका थिए।

बुधबार बिहान सत्तारुढ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

माओवादी केन्द्रसहितको गठबन्धन बनाएर स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा होमिएको कांग्रेसले पुस १० गते बिहान माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न नसक्दा गठबन्धन टुटेको थियो।

जसले गर्दा कांग्रेस अचानक सत्ताबाट बाहिरिएको हो। 

तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .