नेकपा एमालेका सांसद सुवास नेम्वाङले दलीय व्यवस्थामा गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा लैजान नहुने बताएका छन्।
प्रतिनिधिसभाले सभामुखमा देवराज घिमिरेलाई चयन गरिसकेपछि बिहीबार संसद भवनबाहिर बोल्दै उनले यस्तो बताउका हुन्।
'गैरदलीय राष्ट्रपतिबारे मेरो असहमति छ। मैले त्यसबेला सर्वोच्च अदालतमा गएर बहस पनि गरेको थिएँ', उनले भने, 'यो त राजनीतिक दलहरुले आफैंलाई गरेको अविश्वास हो। त्यसबेला पनि मेरो असहमति थियो। राजनीतिक दलहरुले यस्तो एउटा सक्षम व्यक्ति अगाडि सार्न सक्नुपर्छ, जसले निष्पक्ष भएर काम गरोस्। तर निष्पक्षका नाममा गैरदलीय व्यक्ति खोज्ने होइन।'
उनले दलहरुभित्रबाटै संविधानअुनसार निष्पक्ष काम गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने तर्क उनले गरे। राष्ट्रपति संविधानको संरक्षकका रुपमा पनि क्रियाशील हुनुपर्ने उनले तर्क गरे।
त्यसलगत्तै उनलाई पत्रकारहरुले सोधे, 'संविधानको संरक्षण गर्ने जिम्मेवारी आउँदै हो?', त्यसपछि उनले पत्रकारहरुको बुझाइ देखेर आफू कायल भएको टिप्पणी गरे।
'तपाईंहरु कति धेरै बुझ्नु हुन्छ भन्ने कुराले म कायल छु, तपाईंहरुले कति धेरै र चाँडो बुझ्नु हुन्छ हैरान नै हुन्छु', उनले भने, 'तर अब राष्ट्रपति हुनका लागि कुनै कुलमा जन्मिनु पर्दैन। अब फेरि जनताका छोराछोरी नै राष्ट्रपति हुन्छन्।'
Shares

प्रतिक्रिया