मुलुकमा संघीय प्रणाली लागू भएको धेरै समय भएको छैन। संघीयता सुरु भएयता पहिलो पाँच वर्षे कार्यकाल पूरा भई गत मंसिरमा मात्र दोस्रोपटक आम निर्वाचन सम्पन्न भएको छ। र, केन्द्र र सातै प्रदेशमा नयाँ संसद् र सरकार गठन भएका छन्। कुनै बेला संघीयता सपना मात्र थियो। त्यही सपना देख्दै देशमा संघीयता होस् भनी पहिलोपटक आवाज उठाउने नेतामध्ये एक थिए– गजेन्द्रनारायण सिंह। मंगलबार उनै नेता गजेन्द्रनारायण सिंहको २१औँ स्मृति दिवस मनाइएको छ।
एक्काइस वर्षअगाडि २०५८ माघ १० गते उनको निधन भएको थियो। मधेशको अधिकारका लागि आवाज उठाउने नेता सिंहको निधन भएको २ दशक बिते पनि उनले उठाएका एजेन्डालाई लिएर कैयौँ पार्टी अहिले पनि राजनीति गरिरहेका छन्। यद्यपि कांग्रेसबाट अलग्गिएर सिंहले गठन गरेको मधेश केन्द्रित दल नेपाल सद्भावना पार्टी भने अहिले अस्तित्वमै छैन। केही महिनाअगाडि मात्रै रामकुमार महतोले नेपाल सद्भावना पार्टी नाममै नै पार्टी दर्ता गराएर त्यसलाई ब्युँताउने प्रयास गरिरहेका छन्।
सानै उमेरदेखि राजनीतिक चेत रहेको सिंहले नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट सदस्यता लिएर नेपाली कांग्रेसको विद्यार्थी राजनीति सुरु गरेका थिए। भट्टराई सप्तरीको भारतीय नाकामा पर्ने कुनौली क्याम्पसको इन्चार्ज रहेको समयमा उनको हातबाट सदस्यता लिएका थिए। उनले २००७ सालको जनक्रान्तिमा समेत योगदान पुर्याएका थिए। निरंकुश राणा शासनविरुद्ध देशभर ठाउँठाउँमा प्रदर्शन भइरहेको थियो। सोही क्रममा सप्तरीको राजविराजमा कर्फ्यु लागेको थियो। उनी कुशेश्वर पाठक, महेन्द्र मुखियालगायत नेताहरूका साथमा कर्फ्यु अवज्ञा गर्दै राणा शासनविरुद्ध नाराबाजी गरिरहेका थिए। सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेर राजविराज जेल पुर्याएको थियो।
सिंहको जीवनको पहिलो जेलयात्रा यही नै थियो। राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था लागू गरे। वि.सं. २०१७ देखि २०३६ सम्म १९ वर्ष निर्वासित जीवन बिताए। यो अवधिमा उनले पटकपटक गरी ७ वर्ष जेलमा परे। तर सिंह तब चर्चामा आए, जब उनले पार्टीभित्रै मधेशको अधिकारका लागि आवाज उठाउन थाले। देशमा संघीय व्यवस्थाका लागि आवाज उठाउन सुरु गरेका थिए। उनले गरेको संघीय नेपालको परिकल्पना पूरा भएको छ। नागरिकतासम्बन्धी समस्याबारे अहिले पनि आवाज उठी नै रहेको छ।
को हुन् गजेन्द्र नारायण सिंह?
सप्तरीको कोइलाडीमा वि.सं. १९८२ मा सम्पन्न परिवारमा उनको जन्म भएको थियो। सिंहले भारतको उत्तरप्रदेशस्थित बनारसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि उपनामसमेत दिने गरिन्छ। उनी सँगै काम गरेका नेताहहरू उनलाई ‘गजेन्द्र बाबु’ भनेर सम्बोधन गर्छन्। तल्लो तहबाट राजनीति सुरु गरेका सिंह कांग्रेसको केन्द्रीय सदस्यसम्म भएका थिए।
मधेशविरुद्धको विभेद अन्त्य गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए। तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन बाध्य पारिएको थियो। सोही कारण सिंहले २०३४ सालमा पार्टी नै छाडे।
आफ्नो एजेन्डामा अडिग सिंहले कांग्रेस छाडेर नेपाल सद्भावना परिषद् गठन गरी भूमिगत राजनीति सुरु गरे। उनले परिषद्कै माध्यमले बाबा रामजन्म तिवारी र रघुनाथ ठाकुरको मधेश विचारधारा विस्तार गरे। २०६३ सालको मधेश विद्रोहको आधार सिंहकै कालमा बनेको बताइन्छ। मधेश विद्रोहबाटै मुलुक संघीयतामा गएको हो। मुलुकलाई संघीयतामा लैजान धेरैले प्रयास गरे। तर पनि संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक अवरोधसँग जुध्दै गतिशील बनाउने काम सिंहले नै गरेका हुन्।
२०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि मधेशको अधिकारका लागि खुलेर बोल्न उनी सुरु गरे। सो क्रममा कैयौँपटक उनले प्रहरीबाट यातना भोगे। यस क्रममा उनी काठमाडौंमा दुईपटक अनशन बसे, मेची–महाकाली यात्रा गरे र पटकपटक आन्दोलन गरे।
सिंह पहिलोपटक अनशन बसेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका तर्फबाट गृहमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी नेपाल सद्भावना पार्टीसँग गरेको सम्झौता नै मधेश आन्दोलनसँग गरिएको पहिलो सम्झौता मानिन्छ।
Shares
प्रतिक्रिया