ad ad

राजनीति


निर्वाचन समीक्षाका लागि बोलाइएको कांग्रेस बैठक तेस्रो पटक पनि ‘अकारण’ स्थगित

निर्वाचन समीक्षाका लागि बोलाइएको कांग्रेस बैठक तेस्रो पटक पनि ‘अकारण’ स्थगित

नेपालखबर
माघ १२, २०७९ बिहिबार १५:२५, काठमाडौँ

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तेस्रो पटक स्थगित गरेको छ। कांग्रेसले बिहीबार सूचना जारी गरेर माघ १५ गते बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा माघ १५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको उल्लेख छ।

कांग्रेसले यसअघि पनि कारण नखुलाई दुई पटक केन्द्रीय कार्यसमिति बैठक सारेको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेर कांग्रेसले पुस २२ का लागि बैठक बोलाएको थियो। 

पार्टी सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको उक्त बैठकलाई कांग्रेसले पहिलो पटक कारण नखुलाई पुस २८ गतेका लागि सारेको थियो। कांग्रेसले दोस्रो पटक पनि कारण नखुलाई पुस २८ गते बस्ने भनिएको बैठक माघ १५ का लागि धकेलेको थियो। 

तर, मुख्य सचिव पौडेलले बिहीबार जारी गरेको सूचनामा बैठक स्थगित गर्नुको कारण नखुलाई भनिएको छ, ‘बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ।’ 

कारण नखुलाई कांग्रेसले किन पटक–पटक केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिरहेको छ त? मुख्य सचिव पौडेल भन्छन्, ‘नेताहरु व्यस्त हुनुभयो। उहाँहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको हो।’

आशन्न राष्ट्रपतिको निर्वाचनको तयारीमा व्यस्त हुनु पर्ने भएकाले कांग्रेसले बैठक सारिएको अड्कलबाजी पनि भइरहेको छ। तर, मुख्य सचिव पौडेल भने राष्ट्रपतिको निर्वाचनका कारण नभएर नेताहरुकै व्यस्तताका कारण बैठक स्थगित गरिएको दाबी गर्छन्। 

‘राष्ट्रपतिको निर्वाचनका लागि भनेर बैठक स्थगित गरिएको हुँदै होइन,’ उनले नेपालखबरसँग भने, ‘एक जना महामन्त्री तनहुँ हुनुहुन्छ। अर्का महामन्त्री झापा हुनुहुन्छ। उपसभापति स्याङ्जा जानुभएको छ। नेताहरु व्यस्त भएरै हो बैठक स्थगित गरिएको।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .