स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताएकी छन्।
स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हरेक प्रोटोकलमाथि मानवीयताको प्रोटोकल हुने बताइन्।
‘म भित्रको संवेदननाले अस्पताल नपुगि बस्न सकिन र अस्पतालमा भेट्न पुगेको थिएँ। त्यहाँ पुग्नु आवश्यक थियो’ उनले भनिन्, ‘हरेक प्रोटोकल भन्दा मथि मानवीयताको प्रोटोकल हुन्छ। त्यसैले उहाँलाई हौसला दिनका लागि म तत्काल त्यहाँ पुगेकी थिएँ। हामीले अस्पताल प्रशासनको प्रोटोकल मिचेका छैनौं।’
उनले अस्पतालका चिकित्सकलाई पहिला फोन गरेर बुझेपछि आचार्य होसमा भएको थाहा पाएर भेट्न पुगेको बताइन्। चिकित्सकलाई जानकारी गराएर बिरामी भेट्न गएको उनले बताइन्।
गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो। उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन्।
त्यसको भिडिओसहित समाचार सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्रीले आईसीयू कक्षमा पस्दा प्रोटोकल पालना नगरेको र प्रचारका लागि त्यसो गरेको भनी आलोचना भइरहेको छ।
त्यस विषयमा राज्यमन्त्री कार्कीले आज शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेखेर स्पष्टीकरणसमेत दिएकी छन्।
पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे पनि सुनाइन्।
गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्याउने भनी कार्ययोजना बनाइरहेको बताइन्। त्यस्तै, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, २०३० सम्म दिगो विकास लक्ष सफल बनाउनका लागि अभ्यास गरिरहेको बताइन्।
साथै, स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउनका लागि प्रयास गर्ने कार्कीले बताइन्। डा. गोविन्द केसीले उठाएका मागहरु सडकबाट पनि उठाएको र सदनबाट पनि मागलाई सम्बोधन गर्ने उनले बताइन्।
प्रतिक्रिया