नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन्। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गरेका हुन्।
उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताए। महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए।
उनले भने, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ। बैंकहरुमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ। नेपालको अर्थतन्त्रको हिसाव गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पती केन्द्रित हुँदैछ। ९० प्रतिशत जनताहरु किसानहरु गरिबीको मारमा धकेलिरहेका छन्। लाखौंलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ। यो आर्थिक संकट मात्रै होइन, राजनीतिक संकट कारण पनि हो।’
उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए। उनले थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको बताए। महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘आर्थिक संकट के कारणले पैदा भइरहेको छ, हामी सुन्दैछौँ, नेपालमा विभिन्न खालका समुदाय, वर्गहरु आर्थिक उत्पीडनबाट आक्रान्त बनेका छन्। तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठिवास भएको छ। केही उक्सिनको लागि ऋण लिने किसानहरुलाई फासी लाग्न बाध्य बनाउने, जल्न बाध्य बनाउने स्थिति नेपालमा छ। केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरु जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ।’
महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताए। उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे।
उनले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गरी परिवर्तनको संवाहकका रुपमा पार्टीलाई उभ्याउने बताए। उनले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पारे।
महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताए।
प्रतिक्रिया