प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन बताएका छन्।
मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले नेपालमा अन्य उद्योगहरु भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे। उनले मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवद्र्धन र विकसित गर्न आवश्यक रहेको बताए।
उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे। उनले सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताए। उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजि गर्नु आवश्यक रहेको बताए।
उनले भने, ‘पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी छ। नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौं। अर्बौं विदेशी रकम भित्र्याउने गरेका थियौं तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौं। त्यसको खोजि गर्नुछ। त्यसको निम्ति सोच बदल्नु जरुरी छ।’
उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवद्र्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे। प्रधानमन्त्री दाहालले घरेलु उत्पादनलाई प्रवद्र्धन गर्न ऐनको अभावले पनि अफ्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताए।
उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने बताए।
प्रधानमन्त्री दाहालले तत्कालका लागि मुलुकमा वित्तीय संकट देखिएको बताए। उनले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको बताए।
उनले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु,घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गरे।
उनले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्याधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताए। प्रधानमन्त्री दाहालले लघु,घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नविकरण गरी थप पुन कर्जा प्राप्त गर्ने वनाउन पनि सरकार लागि रहेको बताए।
प्रधानमन्त्री दाहालले सरकारका केही नीतिगत,सोच, व्यवहारीक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए। उनले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटी रहेको पनि बताए।
Shares

प्रतिक्रिया