राजनीति


९८ वर्षीय कम्युनिस्ट नेता लिम्बू भन्छन्– मेरो गुनासो प्रधानमन्त्री प्रचण्डलाई सुनाइदिनू

९८ वर्षीय कम्युनिस्ट नेता लिम्बू भन्छन्– मेरो गुनासो प्रधानमन्त्री प्रचण्डलाई सुनाइदिनू

वयोवृद्ध नेता नरबहादुर लिम्बूलाई सम्मानपछि।


नेपालखबर
फागुन १७, २०७९ बुधबार १०:१३, सर्लाही

सुनसरीको धरान निवासी ९८ वर्षीय कम्युनिस्ट नेता नरबहादुर लिम्बूले मुलुकका लागि योगदान गरेका ज्येष्ठ नागरिकलाई राज्यले उचित सम्मान गर्न नसकेको गुनासो गरेका छन्। 

माओवादी केन्द्रनिकट ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्यसमेत रहेका लिम्बूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि जीवनभर कम्युनिस्ट आन्दोलन र मुलुकका लागि योगदान गरेका ज्येष्ठ नागरिकको सम्मानमा ध्यान पुग्न नसकेको दुखेसो गरे।

वयोवृद्ध नेता लिम्बूलाई महोत्तरीको बर्दिबासस्थित आधारशीलाले धरान - ११ स्थित उनको निवासमै पुगेर सम्मान गरेको छ।

आधारशीलाका संस्थापक अध्यक्ष तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसहितका नेताले लिम्बूलाई कदरपत्रसहित सम्मान गरेका हुन्। 

जीवनभर मजदुर आन्दोलनमार्फत कम्युनिस्ट राजनीतिमा सक्रिय लिम्बू हाल धरान - ११ मा छोरीको घरमा बस्छन्।

आफूलाई सम्मान गर्न पुगेका नेता पोखरेललाई लिम्बूले जीवनभर कम्युनिस्ट आन्दोलन र मुलुकको हितमा काम गरे पनि जीवनको उत्तरार्द्धमा छोरीसँग आश्रित भएर बस्नुपरेको गुनासो गरे। 

‘हाम्रो सम्मान राज्यले गर्नुपर्ने हो,’ लिम्बूको भनाई उद्धृत गर्दै माओवादी केन्द्र सुनसरीका इन्चार्ज निर्मल बरालले भने, ‘जीवनको उत्तरार्द्धमा छोरीसँग आश्रित भएर बस्नुपरेको छ। मेरो गुनासो प्रधानमन्त्री प्रचण्डलाई सुनाइदिनू।’

लिम्बूले माओवादी नेता पोखरेलसँग ज्येष्ठ नागरिकलाई राज्यले नै सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। 

नेता पोखरेलसँगै आधारशीलाका अध्यक्ष दीपबहादुर योञ्जन, पूर्वअध्यक्ष माधव कोइराला, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बराललगायत नेताले लिम्बूलाई उनकै निवासमा पुगेर कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .