नेकपा (एमाले) को मिसट ग्रासरुट अभियानअन्तर्गत बुधबार जुम्लाको चन्दनाथ नगरपालिकास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ।
कार्यक्रममा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रसको गठबन्धनलाई अप्राकृतिक र अवाञ्छितको संज्ञा दिए।
यो गठबन्धनले मुलुकलाई अधोगतितिर लैजाने भएकाले त्यसविरुद्ध जनतालाई जागरुक बनाउँदै एमालेलाई बहुमतमा पुर्याउन कार्यकर्ताहरु खट्नपर्ने बताए।
‘एमालेले कसैको नुन खाएको छैन । आफ्नो बलमा उभिएको छ, आफ्नो निर्णय आफैँ गर्छ’, उनले भने, ‘त्यसैले हामीलाई जति दण्डित गर्न खोजियोस्, कुनै शक्तिसामु झुक्दैनौँ। यही मुद्दासहित जनताको इजलासमा खडा भएका छौँ। हामीलाई विश्वास छ, जनताको इजलासबाट न्याय पाउनेछौँ।’
चन्दनाथका १० वटै वडाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई व्यापार बनाएको बताए।
‘माओवादी अध्यक्षले राजनीतिलाई व्यापार बनाए। हरक्षण नाफा–घाटाको मात्र हिसाब गरेर चल्ने गरेकाले ०६४ मा पहिलो शक्ति भएको माओवादी अहिले आफ्नो खुट्टामा उभिन नसक्ने गरी कमजोर बनेको छ’, उनले भने, ‘०७४ मा हामीसँग मिल्दा ३६ सिट जितेको माओवादी ०७९ मा पाँच दलसँग मिल्दा १८ सिटमा खुम्चिएको छ । अर्को चुनावमा माओवादीलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउनेछ।’
उनले. कर्णालीको समग्र विकासका लागि एमालेले जित्नुपर्ने बताए। ‘जुम्लामा मरिसकेको राजतन्त्रलाई ब्य्ुझाउँछौँ भन्ने जस्ता भ्रामक कुरा गर्नेहरुले जित्दा स्वाभिमानी जनताको अपमान भएको छ’, उनले भने, ‘जुम्ली जनता अग्रगमन र विकासका पक्षमा रहेको प्रमाणित गर्न पनि एमालेले जित्नुपर्छ।’
चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रमा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यहरु डा. कुशेन्द्र महत, धीरेन्द्रराज गिरी, गोर्खबहादुर पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, जयलक्ष्मी चौलागाईंलगायतले बोले।
भेलाबाट १० वटै वडाका कार्यक्रम तय गरिएका छन्। चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका रिजाल ती दुई पालिकाका १८ वटै वडामा आयोजित कार्यक्रममा सहभागी हुने छन्।
अभियानका क्रममा बैचारिक प्रशिक्षणका साथै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानका रुपमा चलाइने एमालेले जनाएको छ।
Shares
प्रतिक्रिया