राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७८ सालको जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या निकै घटेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बुधबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोमा सनातन धर्म (हिन्दु, बौद्ध र किरात) संस्कृति र परम्परा कमजोर हुँदै गएको तथा लोभलालच, प्रलोभन, भ्रम र त्राश सिर्जना गरी योजनावद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भैरहेकोबारे राप्रपा नेपालले बारम्बार आवाज उठाउँदै आएको स्मरण गराएका छन्।
‘धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चिमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन्। केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन्’ थापाले भनेका छन्, ‘राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भैरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसंचार माध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ।’
थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति अब संघर्षमा उत्रनु बाहेक अर्को विकल्प नरहेको बताएका छन्।
सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न पनि उनले आह्वान गरेका छन्।
प्रतिक्रिया