ad ad

राजनीति


कांग्रेसको भागका आठ मन्त्रालय, कसलाई कुनको जिम्मेवारी?

माओवादीबाट नारायणकाजी गृह र अमनलाल ऊर्जामा
कांग्रेसको भागका आठ मन्त्रालय, कसलाई कुनको जिम्मेवारी?

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १९:५९, काठमाडौँ

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नेताहरुको मन्त्रालय करिब टुंगो गरेको छ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले मन्त्री र तिनले सम्हाल्ने मन्त्रालयको नाम करिब पक्का गरेका हुन्।

देउवाले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीका रुपमा सरकारमा पठाउने भएका छन्। 

त्यसैगरी केन्द्रीय सदस्य एनपी साउद सहरी विकास मन्त्री बन्ने भएका छन्। 

उपसभापति धनराज गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन्। केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ। 

त्यसैगरी सांसद डिगबहादुर लिम्बुले कानुन मन्त्रालय सम्हाल्ने भएका छन्। उता तेह्रथुमबाट प्रत्यक्षमा विजयी सांसद सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने भएकी छन्। 

उता रक्षा र परराष्ट्र मन्त्रालयमा भने कुरा मिल्न बाँकी रहेको एक नेताले बताएका छन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाललाई दिने दुई मन्त्रालयको टुंगो लाग्न बाँकी छ।

खड्काले कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको पनि भूमिका निर्वाह गर्ने छन्। उनलाई रक्षा मन्त्रालयमा पठाउने तयारी थियो।

तर खड्का र रिजालले परराष्ट्र र रक्षा कुन सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी भएको छ। देउवाले रिजाललाई परराष्ट्र मन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका थिए। तर खड्कासँग छलफलपछि परराष्ट्र र रक्षाको टुंगो देउवाले गर्ने भएका छन्। 

उता नेकपा माओवादी केन्द्रबाट हाल भौतिक मन्त्रालय सम्हालिरहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्ने छन्। 

रवि लामिछानेले गत माघ १३ गते सांसद र मन्त्री दुवै पद गुमाएयता यो मन्त्रालय खाली छ। अहिले प्रधानमन्त्री प्रचण्डले गृह र रक्षासहित १६ वटा मन्त्रालय आफैंले सम्हालेका छन्। 

त्यसैगरी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका अमनलाल मोदीको ऊर्जा मन्त्रालयमा सरुवा गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .