राजनीति


रवि लामिछाने भन्छन्– अदालत र निर्वाचन आयोगबाट नसकेपछि अडिओ प्रकरण

रवि लामिछाने भन्छन्– अदालत र निर्वाचन आयोगबाट नसकेपछि अडिओ प्रकरण

नेपालखबर
चैत २७, २०७९ सोमबार ११:५१, चितवन

अदालत र निर्वाचन आयोगबाट नसकेपछि अहिले उपचुनावको मुखमा आफूविरुद्धको अडिओ सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले दाबी गरेका छन्। 

चुनावी अभियानका सिलसिलामा आज बिहान चितवनमा आयोजित सभामा बोल्दै उनले चुनावकै मुखमा आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक गरिनु अर्थपूर्ण भएको बताए। तर यसलाई आफूले अन्यथा रूपमा नलिएको पनि उनले बताए।   

‘अदालतबाट नसकेपछि, निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुख पारेर यस्ता चिजहरू आउनुको पछाडि गहिरो अर्थ छ’, उनले भने, ‘तर यसलाई मैले अन्यथा लिएको छैन। जसले जसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन।’

उनले अडिओमा दाबी गरेजस्तो आफ्ना वरपरका मान्छेले सांसद श्रेष्ठसँग २ करोड मागेको पुष्टि भए कडा कारबाही गर्न तयार रहेको पनि बताए। घटना छानबिनका लागि आफैँ आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने उनको भनाइ छ। 

‘जसले, जसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन। मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ। आज म आफैँ अख्तियारमा निवेदन दिनेछु’, उनले भने, ‘मेरै वरपर भएका ती मान्छे को हुन्? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ। सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ।’   

यसअघि मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा क्षेत्र नम्बर २ बाट विजयी भई गृहमन्त्रीसमेत बनिसकेका लामिछानेले अवैध नेपाली नागरिकता प्रयोग गरेको कुरा सर्वाेच्च अदालतबाट ठहर भएपछि उनको सांसदसहित गृहमन्त्री पद गुमेको थियो। त्यसपछि प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उनी आगामी वैशाख १० गते हुने उपचुनावमा चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनेका छन्।

यसबीच उनीविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पनि परेको थियो। तर महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा नचलाउने निर्णय गर्‍यो। अघिल्लो चुनावमा उनले अवैध नागरिकता प्रयोग गरी पार्टी दर्ता गराएकाले उनको पार्टी नै खारेज हुनुपर्ने भनी निर्वाचन आयोगमा निवेदन दिइएको थियो। तर यसमा आयोगले कुनै कदम चालेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .