अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरे।
उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे।
‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ। अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन्। हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस,’ महतले भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला।’
अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिए।
उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे। उनले पार्टीप्रतिको आलोचनाका कारण जनताहरु के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताए।
‘हामी पार्टीका सबै नेताहरु एक अर्काको आलोचना गर्न धेरै समय खर्च गर्छौं, नेतृत्वलाई नै खसाल्न हामी धेरै समय खर्च गर्छौं। हामी पार्टीको नेतृत्वलाई नै आलोचना गर्न धेरै समय खर्च गर्दछौँ,’ महतले भने।
पार्टीका नेताहरुको आलोचना सामाजिक सञ्जालमा नगर्न उनले आग्रह समेत गरे।
‘यसमा धेरै समय खेर फाल्यौँ भने अहिले त सामाजिक सञ्जालको जमाना छ, हरेकको घरघरमा पुग्छ, यिनीहरु त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरुको पार्टीमा कनि लाग्ने भन्छन् की भन्दैनन्,’ महतले अघि भन्, ‘त्यसैले केन्द्रिय समितिको बैठक २ गतेलाई तोकिएको छ, त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौ, क्षेत्रिय समिति, गाउँ, नगर समिति छ त्यहाँ भनौँ। त्यहाँबाट निस्कर्ष निकालेर पार्टीको मात्रै कुरा गरौँ।’
मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताए।
‘त्यहाँ नभन्ने तर बाहिर भनेको भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन, जनता दुविधामा पर्छन्, के हो नेपाली काँग्रेसले भनेको बुझिँदैन। हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो,’ उनले भने।
Shares

प्रतिक्रिया