नेकपा एमालेले सदनमा आफ्नो भूमिका प्रभावकारी बनाउन सांसदहरुसँग छलफल कार्यक्रम राखेको छ। पार्टीको भूमिका थप प्रभावकारी बनाउन अन्तर्क्रिया गर्न लागिएको संसदमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टी संसदीय दलका नेता रामबहादुर थापा बादल पनि सहभागी हुनेछन्। सांसदहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनेछन्।
‘संसदमा पेश भएका विधेयक तथा अन्य विषयमा एमाले सांसदहरुले कसरी असरदार प्रस्तुति दिने तथा पार्टीको नीतिअनुसार पेश हुने भन्नेबारेमा छलफल गर्न लागिएको हुनसक्छ’, सांसद महरले नेपालखबरसँग भने, ‘म पनि अहिले उतै गइरहेको छु।’
११ बजेका लागि तय भएको कार्यक्रमअनुसार महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रस्तुति दिनेछन्। संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने तालिका छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले तेस्रो ठूलो दल हो। प्रतिनिधिसभामा उसका १० महिला र १५ पुरुष सांसदहरु छन्। राष्ट्रियसभाका एमाले सांसदहरुलाई पनि कार्यक्रममा बोलाइएको छ। राष्ट्रिय सभामा उसका १० सांसद छन्।
Shares

प्रतिक्रिया