राजनीति


कांग्रेस बैठकमा देउवा र गच्छदारबीच चर्काचर्की (भिडिओ)

गच्छदारले बैठकमै भने- म ज्यादै बदनाम भएको मान्छे!
कांग्रेस बैठकमा देउवा र गच्छदारबीच चर्काचर्की (भिडिओ)

नेपालखबर
साउन ७, २०८० आइतबार १७:८, काठमाडौँ

अघिल्लो सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। आज पाँचौं दिन केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

बैठकमा धारणा राख्ने क्रममा आइतबार सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य विजयकुमार गच्छदारबीच केहीबेर चर्काचर्की भयो। 

सभापति देउवाले समयको कुरा गर्दैगर्दा गच्छदारले आफूलाई डिस्टर्ब भएको गुनासो राख्दा केहीबेर माहोल गरमागरम भएको थियो। 

गच्छदारले आफ्नो धारणा राख्न सुरु गर्दैगर्दा उनीहरूबीच केहीबेर भनाभन भएको थियो। आफ्नो सम्बोधनको सुरुमा नै गच्छदारले बैठक लाइभ भएकोप्रति प्रश्न गर्दै कसरी बोल्ने? भन्नेबारे अलमलमा भएको बताएका थिए। 

साथै, उनले आफू ज्यादै बदनाम भएको पनि स्वीकार गरे। 

‘बैठक लाइभ भइरहेको छ, कहाँबाट बोल्ने कसरी बोल्ने? म अलमलमा छु। म ज्यादै बदनाम पनि भएको मान्छे हुँ,’ गच्छदारले सुरुमा भने। 

उनले आफ्नो सम्बोधन अघि बढाउनै लाग्दा सभापति देउवाले रोकेर घडी हेर्न सुझाए।

देउवालाई जवाफ फर्काउँदै गच्छदारले भने, ‘म मेरो घडीमा प्रतिवद्ध छु। मलाई एकछिन डिस्टर्ब गरिराख्नुस्। मैले बोल्दा सभापतिजीले बेलाबखत रोकिराख्नुहुन्छ, त्यसले मलाई मद्धत नै पुग्छ।’

केहीबेर बैठक हलमा हाँसोको फोहोरा छुट्यो। देउवाले दिक्क मान्दै ‘ह्या’ भनेर बोल्न संकेत गरे। 

गच्छदार भने आफूलाई डिस्टर्ब भएको गुनासो गर्नतिर लागे। 

‘मलाई कति समय डिस्टर्ब भएको छ, मेरो टाइम काटिदिनुहोला। मैले धेरै कुुरा बोले भनेँ असहज हुुन्छ होला। त्यसकारण म धेरै बोल्दिनँ। मेरो निर्धारित समयमा मेरा कुरा राख्छु,’ उनले भने।

त्यतिबेलासम्म पनि देउवा उनीप्रति नरम नै थिए। 

गच्छदारले आफ्नो भनाइ अघि बढाउन थाले। उनले नीति अधिवेशन समयमै हुनुपर्ने माग राखे। 

‘नीति अधिवेशन चुनाव नजिकै नजिकै आएर गर्ने होइन,’ उनले भने। त्यसपछि उनले कांग्रेसको नीति सिद्धान्त र विचारमाथि नै प्रश्न उठाउन थाले। 

‘नेपाली कांग्रेस आज कुन ठाउँमा उभिएको छ? विश्वेश्वरप्रसाद, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसादहरूले बनाएको कांग्रेस आज कहाँ छ?,’ गच्छदारले प्रश्न गर्दै भने।

उनले अघि भने, ‘नेपाली कांग्रेसको सिद्धान्त र विचार कहाँ उभिएको छ? मलाई बताउनुस्। म बहस गर्न तयार छु। म विद्धान पदाधिकारीहरुसँग। समयमै नीति अधिवेशन हुनुपर्छ। मंसिरभित्र नीति अधिवेशन हुनुपर्छ।’

उनले यति कुरा राखेपछि उनलाई देउवाले सम्बोधन सक्न अनुरोध गरे। 

तर, गच्छदार मानेनन्। उनले तीनवटा कुरामात्र राख्ने भन्दै अलिकति समय दिन आग्रह गरे। 

‘तीनवटा कुरामात्र भन्छु। मलाई अलिकति समय दिनुस् न। महामन्त्रीले सांगठनिक...’, गच्छदारले यति भन्दै थिए। तर, देउवाले उनलाई रोक्न खोजे।

‘अलिकता समय दिनुस् न मलाई,’ गच्छदारको दोस्रो आग्रह थियो।

देउवा उनलाई भने, ‘कति दिने तपाईंलाई? सबैलाई आफ्नोे टाइम दिइएको छ। त फेरि.... कति दिनु, एक मिनेट मात्र। म धेरै दिन्नँ।’

त्यसपछि उनले केहीबेर गच्छदारलाई बोल्न दिएर सहमहामन्त्री जीवन परियारलाई समय दिए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .